कञ्चनपुर: कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ८९ करोड ६७ लाखको बजेट विनियोजन गरेको छ । आज नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा बसेको नगरको १३ औं नीति तथा बजेट कार्यक्रममा नगर उपप्रमुख द्रोपती रानाले बजेट प्रस्तुत गरेकी थिईन ।
आज सम्पन्न १३ औं नगर सभा अधिवेशनको निति कार्यक्रमबाट उक्त बजेट पारित भएको हो। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योग आत्मनिर्भर कृष्णपुरमा श्रोत को सदुपयोग भन्ने मुल लक्ष्य सहित कृष्णपुर नगरपालिकाले आर्थिक विकास तर्फ व्यावसायिक पशुपालन र तरकारी खेती मार्फत गरिबी निवारणमा सहयोग पुर्याउने लक्ष्य राखेको छ त्यस्तै; कृषि तथा पशुपन्छी तर्फ वडा नं. १,२,३ र वडा नं. ७,८,९ मा सबै जनतालाई पाएक पर्ने गरि दुई स्थानमा कृषि सेवा केन्द्र स्थापना गरि प्राविधिक व्यवस्था, तरकारी खेतीमा आवद्ध कृषकहरुको उत्थान बजारीकरण का लागि कृष्णपुर बाहिर पनि स्ट्लको व्यवस्था र कृषि मेला पर्दशनी गरिने भएको छ।
जैविक मल उत्पादन तथा बजारिकरण अनुदान उपलब्ध, मेयर कृषि कार्यक्रममा: कृष्णपुर नगरपालिका वडा नं. ७,८,९ लाई विशेष पशुपालन पाकेट क्षेत्र बनाई उन्नत जातका पशुपालन सहुलियतमा दिईने, कृष्णपुर नगरपालिका वडा नं. १ र ४ को घाडीघाच क्षेत्र; वडा नं. २ को वाणी शिविर र खल्लागोठ क्षेत्रमा मौरीपालन पाकेट क्षेत्रको रुपमा विस्तार गरिने, सामुदायिक खेतीमा आवद्ध किसानहरुलाई कृषि मिटरको शुल्क अनुदान दिईने, खानेपानी तथा सरसफाईमा नगरपालिकामा हरेक घर धुरीमा स्वच्छ खानी पानीको व्यवस्था, हिंसामा परेकाहरुको व्यवस्थापन गर्ने सेवा केन्द्र(Safe House) मो भवन निर्माण गरिने, लघुवित्तको हरेक क्रियाकलाप र गतिविधि अनुगमन गर्ने, रोजगारी र आप्रवासन: कामका लागि भारत तथा अन्य देश गएर फर्किएका नेपाली आप्रवासी कामदारहरुलाई स्वदेशमा रोजगारी सृजना गर्ने, विदेशबाट फर्किएकाहरुको सीप वितरण संकलन गरि सोही सीप अनुसारको कामका लागि आवश्यक वातावरण मिलाईने नीति तथा कार्यक्रम नगरपालिकाले ल्याएको छ।
हाम्रो परम्परा हाम्रो संस्कृति सरक्षण र प्रवर्धन हाम्रो साझा जिम्मेवारी अन्तर्गत: रानाथारु, डगौरा थारुमा व्यापक रहेको पधना, भलमन्सा प्रथालाई जिवन्त राख्न कृष्णपुर नगरपालिकाबाट आ.व २०७९/८० मा भलमन्सा ऐन पारित गरिने छ। कृष्णपुर वडा नं. ६ र ७ मा राना थारु र डगौरा थारु संग्रालय निर्माण गरिने भएको छ।

दलित समुदायलाई समाजको मुलधारको अग्र पन्तीमा ल्याउन विभिन्न सचेतना कार्यक्रम गरिने, दलित माथी हिंसा गर्ने लाई समाजमा बहिष्कृत गर्ने नीति ल्याईने छ। जेष्ठ नागरिकलाई आश्रममा हैन घरमै सुरक्षित एवं सम्मान जनक रुपले बस्ने बाताबरण बनाउने नीति ल्याईने छ।
शिक्षामा: नगर स्तरीय शैक्षिक मेला संचालन गरिने, अभिभावक सचेतना कार्यक्रम संचालन गरिने, आवश्यकताको आधारमा नगर विद्यालयहरुमा आवसिय विद्यालय संचालन निती ल्याईने भएको छ। स्वास्थ्यमा: नगरका नगरबासिहरुलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने छ। कृष्णपुर १,२,३ का लागि एक,वडा ४,५,६ का लागि एक र ७,८,९ का लागि एक एम्बुलेन्सको व्यवस्था गरिने छ। थारु समुदायमा रहेको बंशानुगत समस्याका रुपमा रहेको सिकल सेल र थाल्सेसिया रोगहरु निशुल्क जाचको व्यवस्था गरिने भएको छ।
भुमी व्यवस्थापन: कृष्णपुर नगरपालिका वडा नं. १, २, ३, ४ , ८ र ९ मा अव्यवस्थित बसोबास को जग्गा नापी गरिएको र बाकी ५, ६ र ७ नं वडाहरुको नापी आ.व ८०/८१ को पारम्भमै गरिने, नगरपालिका भित्रका भुमिहिन, सुकुम्बासी लाई जग्गा व्यवस्था मिलाईने भएको छ। सडक तथा यातायात मा नगर भित्रका सबै सडकहरूलाई नगरपालिकाका स्रोत साधन प्रयोग गरि स्तरोन्नति गरिने, कृष्णपुर-२ संग जोडिएको लालझाडी-५ कायम रहेको सिमांकन नक्सामा फरक देखिएकाले कृष्णपुरको नक्सामा देखिएको भुगोललाई नगरपालिका मा ल्याउन जिल्ला समन्वय समिती मार्फत पहल गर्ने, ADB को कार्यक्रमलाई कृष्णपुरमा ल्याउन पहल गरिने नगर प्रमुख ओझाले बताएका छ्न।
कृष्णपुर नगरपालिका वडा नं. ५ गुलरिया बजार क्षेत्रमा सार्वजनिक पुस्तकालय स्थापना गरिने, मदिरा विक्रि वितरणलाई निश्चित मापदण्डको आधारमा व्यवस्थित गर्ने नीति कडाईका साथ अबलम्ब गरिने, सार्वजनिक खरिद योजनालाई पारदर्शी,मितव्ययी र प्रतिस्पर्धात्मक बनाउदै सुसासन कायम गरिने छ। नगरपालिका आवश्यक गाडीहरू लाई ट्रयाक गर्ने सिस्टम बनाईने, आर्थिक वर्ष ८०/८१ लाई कर बर्ष घोषणा गरिने, paper less governance संचालनको लागि आवश्यक प्रक्रिया थालिने छ। एकीकृत फोहरमैला व्यवस्थापन र एक वडा एक खेलमैदान निर्माण गरिने नगर प्रमुख हेम राज ओझाले बताएका छन्।