लालझाडी: कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं.४ मा रहेको वैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा सहित चार जनालाई भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिवार विशेष अदालतमा गैरकानूनी रुपमा उत्खनन गरी विद्यालय भित्रको माटो स्थानीय इँटा उद्योगहरूलाई बिक्री गरी सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहरा, न्यु भगवती इँटा उद्योगका मेनेजर राजेन्द्र बहादुर भाट र सिद्ध वैजनाथका प्रोपाइटर धनबहादुर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जिल्ला कञ्चनपुर लालझाडी गाउँपालिका वडा नं. ४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालय डाङाजाईको हाताभित्र रहेको जमिन गैरकानूनी रुपमा उत्खनन् गरी माटो स्थानीय ईटा उद्योगहरुलाई बिक्री गरी सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला कञ्चनपुर लालझाडी गाउँपालिका वडा नं. ४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालय डाङाजाईको हाताभित्र आर्थिक वर्ष २०७६/०७७ मा र आ.व. २०७७/०७८ मा माटो उत्खनन् गरी जमिन समथर र पोखरी निर्माण गर्दा तत्कालीन प्रदेश सरकारको आर्थिक ऐन, २०७६ को दफा ८ बमोजिमको अनुसूची-६ र सुदुरपश्चिम प्रदेश आर्थिक ऐन, २०७७ को दफा ८ बमोजिमको अनुसूची-६ ले तोके बमोजिमको करबापतको माटोको जम्मा रकम रु.७ लाख,२९ हजार,५ सय १४ रुपैया .५० पैसा बराबरको सरकारी रकम हिनामिना अर्थात हानि नोक्सानी गरेको पाइएको हुँदा उक्त भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेका ४ जनालाई सजायको मागदाबी लिई हिजो बिहिवार विशेष अदालत, काठमाडौंमा अख्तियार अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ। प्रधानाध्यापक बोहरा कृष्णपुर-०२ का स्थानीय बासिन्दा हुन्।