कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ३ को दोदा नदीमा बर्सेनि आउने बाढीले कटान, डुवान गर्ने उच्च जोखिम क्षेत्रहरुमा आज पालिका प्रमुख निर्मल राना, उपाध्यक्ष सपना चौधरी, लालझाडी-३ का वडा अध्यक्ष टिकाराम डगौरा, वडा सदस्यहरु, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलि र स्थानिय वासिन्दाले स्थलगत अनुगमन गरेकाे छन्।
लालझाडी गाउँपालिका वडा नम्बर ३ को बल्मी ,नन्द गाउँ ,डुङ्गा र पर्सियामा दोदा नदी किनारामा अनुगमन गरिएको हो। सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापा ,पृतना हेडक्वाटर वाहिनीपति सहायक रथी सुरथ रावल श्री नम्बर २५ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी मनोज थापाको टोलीले स्थलगत अनुगमनमा सहभागी रहेका थिए।
बाढी र डुबानका जोखिम क्षेत्रको निरीक्षण गर्दै बाढीका बेलामा नेपाली सेनाको उद्धार टिम लालझाडीका लागि ढक्कामा राखिएको र सहयोगका लागि नेपाली सेना तयार रहेको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले जानकारी दिएका छन्।
लालझाडि गाउँपालिका अध्यक्ष निर्मल रानाले पालिकामा हुनसक्ने विपदका लागि पुर्व तयारी रहेको, दोदा नदीमा जैविक तटबन्ध गरिएको साथै उच्च जोखिम रहेको क्षेत्रमा आवश्यक तटबन्ध निर्माण गरिने बताएका छन।

लालझाडीमा विपद व्यवस्थापनमा कम बजेट रहेतापनी पालिका विपद व्यवस्थापनका लागि तयार रहेको र बाढी सम्बन्धि विभिन्न संस्थाहरुले तालिम दिएको उपाध्यक्ष सपना चौधरीले बताएकि छिन्।