कञ्चनपुर: लालझाडी गाउँपालिका कार्यालयले गाउँ सभाको १५ औँ अधिवेशन सुरु गरेको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको सभापतित्वमा बुधबारबाट सुरु गरिएको अधिवेशनमा गाउँपालिका उपाध्यक्ष सपना राना चौधरीले प्रस्तुत गरेको चालुआर्थिक वर्ष २०८०।०८१ को अर्धवार्षिक प्रगति प्रतिवेदन र न्यायिक समितिको प्रतिवेदनमाथि छलफल गरी सभाबाट पारित गरिएको छ।
त्यस्तै विधायन समितिका संयोजक पहल बहादुर थापाले प्रस्तुत गरेको लालझाडी गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनमाथि छलफल गरि पारित गरिएको छ।

यसका अतिरिक्त गाउँपालिकाका विविध क्षेत्रमा भए गरेका विकास निर्माण तथा समसामयिक विषयहरूमाथि गहन छलफल र समीक्षा गर्दै आगामी दिनका कार्ययोजना अनुरुप अगाडि बढ्ने लगायतका विषयमा निर्णय गरिएको लालझाडी गाउँपालिकाका प्रवक्ता आशाराम रानाले जानकारी दिएका छन्। लालाझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सदस्य सचिव राज बहादुर सार्कीले अधिवेशनको सहजीकरण गरेका थिए।
अधिवेशनको पहिलो बैठकमा सभाका सदस्यहरूले आआफ्ना प्रश्न, जिज्ञासा, धारणा तथा सुझाव राखेका थिए भने गाउँपालिका अध्यक्ष र उपाध्यक्षले त्यसमा जवाफ दिएका थियोे । अधिवेशनको दोस्रो बैठकका लागि अर्को दिन सूचना गरिने अध्यक्ष रानाले बताएका छन्।