कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका ले बुधवारबाट श्रम स्वीकृतिको सुरुवात गरेको छ। अब वैदेशिक रोजगारीका लागि विदेश जानेहरुलाई पालिकाले नै श्रम स्वीकृति उपलब्ध गराउने भएको छ।
पालिका अध्यक्ष निर्मल रानाले वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने श्रम स्वीकृतको निस्सा प्रदान गरेर श्रम स्वीकृत वितरण कार्यको लालझाडीमा सुरुवात गरेको बताए। नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमै श्रम स्वीकृत दिने निर्णय अनुसार हिजोदेखि लालझाडी गाउँपालिकाले श्रम स्वीकृति दिन थालेको गाउँपालिका अध्यक्ष रानाले बताएका छन्।
लालझडी गाउँपालिका बाट सुरेश रानालाई पहिलो श्रम स्वीकृतिको निस्सा दिएर सुरुवात गरिएको छ भने आफ्नै गाउँबाट श्रम स्वीकृत पाउने भएपछि स्थानीय युवाहरु हर्षित भएका छन्। श्रम स्वीकृतिकै लागि अब राजधानी जानुपर्ने बाध्यता लालझाडीमा हटेको छ।