लालझाडी ५ नम्बर वडा कार्यालय भवनको शिलान्यास

कञ्चनपुर: लालझाडी गाउँपालिका–५ देखतभुलीको वडा कार्यालय भवनको शिलान्यास गरिएको छ। देखतभुली स्वास्थ्य चौकि नजिकैको सानो भवनबाट सेवाको प्रवाह गर्दै आइरहेको वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुन लागेको वडा अध्यक्ष पहल बहादुर थापाले बताएका छन्।

नयाँ बन्न लागेको वडा कार्यालय भवनको एक औपचारिक कार्यक्रमबीच हिजो मंगलबार लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले शिलान्यास गरेका थिए। त्यसै अवसर मा अध्यक्ष रानाले गाउँपालिका सधैँ नागरिकको पक्षमा रहेको बताएका छन्।

निर्माण व्यवसायीलाई गुणस्तरीयसहित समयमै वडा कार्यालय भवन निर्माण गर्न आग्रह गर्दै नयाँ भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण वडावासीले सहज रूपमा सेवा लिन पाउने उनले विश्वास व्यक्त गरेका छन्।

अध्यक्ष निर्मल रानाले वडा कार्यालय निर्माणका लागि जग्गा प्रदान गर्ने बैजनाथ विद्युत लगायत सहयोग गर्ने सम्पुर्ण समाजसेवी धन्यवाद व्यक्त गरेका थिए। वडा कार्यालय भवन निर्माणका लागि ३ कट्टा जग्गा प्रदान भएको वडा अध्यक्ष पहल बहादुर थापाले बताएका छन्।

यस वडा कार्यालय भवनको निर्माणको काम गर्न पुस मसान्तभित्र इस्टिमेटअनुसार सम्पन्न गर्नेगरी महाकाली कन्सटसन कम्पनी महेन्द्रनगर सँग सम्झौता भएको छ। ६२ लाख लागतमा अपाङ्गमैत्री सुविधासम्पन्न भुकम्प प्रतिरोधात्मक भवन निर्माण हुने भएको छ ।

२४०१ स्क्वायर फिटमा १ तले भवन सभाहल सहितको निर्माण हुन लागेको निर्माण व्यवसायी खगेश्वर प्रसाद जोशीले बताएका छ्न्।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष पहल बहादुर थापा, कार्यपालिका सदस्य, वडा सदस्य, वडाका कर्मचारी, समाजसेवी, स्थानीय राजनीतिक दलका प्रतिनिधिको र स्थानीयहरुको सहभागिता रहेको थियो।

Facebook Comments Box