कञ्चनपुर: कृष्णपुरमा अत्यधिक गर्मीका कारणले एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुरमा एक महिलाको बाख्रा चराउदै गरेको अवस्थामा अत्याधिक गर्मीले मृत्यु भएको स्थानीयले बताएका छन्। सोमबार दिउँसो कृष्णपुर-४”मालुवेला” का ७८ वर्षीय वृद्ध महिला भुरी देवी धामी कृष्णपुरको मालुवेलास्थित खोलामा अत्याधिक गर्मीका कारण स्वासप्रस्वासमा समस्या भई पानीको अभावले बाख्रा चराउदै गर्दा लडिरहेको अवस्थामा स्थानियहरुले मृत फेला पारेको स्थानिय (मृतक धामी का छिमेकी) नवीन बोहराले बताएका छन्।
स्थानीय बासिन्दाले अत्यधिक गर्मीका कारण धामीको मृत्यु भएको अनुमान गरेका छन्। ४ नं. वडामा अत्याधिक गर्मीले गर्दा एकजना वडाबासी महिलाको मृत्यु हुनु दु:खद रहेको साथै अत्याधिक गर्मीले ज्यानै समेत जानसक्ने जोखिम रहेकाले दिउँसो विशेष काम बाहेक घर बाहिर ननिस्किन कृष्णपुर ०४ का वडा अध्यक्ष धर्म बहादुर सिहले वडा बासीहरुलाई विशेष अनुरोध गरेका छन्।
मृतक धामीको दाहसंस्कार भैसकेको स्थानीय नवीन बोहराले बताएका छन्। केही दिन यता कृष्णपुरमा अधिकतम तापक्रम ४५ डिग्री सेल्सियस रहेको थियो। यो तापक्रम यस वर्षको सर्वाधिक हो।