कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ४ मा रहेको ग्वासी समैजी गौशाला व्यवस्थापन समितिको आयोजनामा आयोजित ग्वासी समैजी गौ:संरक्षण धार्मिक ज्ञान महायज्ञ २०८० को शनिबार आय–व्याय सार्वजनिक गरिएको छ।
कृष्णपुर नगरपालिका वडा नं. ४ सहारानगरमा आयोजना भएको महायज्ञको आज शनिबार पत्रकार सम्मेलन गरि आय–व्याय सार्वजनिक गरिएको हो।
मुल आयोजक समितिका संयोजक गणेश बहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष जगदीश भट्टले महायज्ञ अवधिको आम्दानी र खर्च विवरण सार्वजनिक गरेका हुन। कार्यक्रममा कृष्णपुरका मेयर हेम राज ओझा, वडा नं. ४ का वडा अध्यक्ष धर्म बहादुर सिह लगायतको उपस्थिति रहेको थियो।
उनका अनुसार महायज्ञमा कलश, शालीग्राम परिक्रमा, धान विक्री, तुलादान, ब्रहामण भोजना, ब्रतबन्ध, प्रसाद र चन्दादाता लगायतबाट ३६ लाख ५९ हजार ६ सय ७७ रुपैयाँ आम्दानी भएको छ।
यस्तै, प्रचार–प्रसार माईकीङ तथा भिडियो, पुजा सामाग्री, कलश, पानस तथा भाडाकुडी खरिद, खाद्यान्न, दुध, दही, पनिर तथा तरकारी, ब्यानर, ठेली, फ्रेम, सरसफाई लगायत विभिन्न शिर्षकमा गरि १६ लाख ५ हजार ६६ रुपैया खर्च भएको छ।
महायज्ञ आयोजनाबाट आम्दानी र खर्च गर्दा २७ लाख बढी रुपैयाँ नाफा भएको छ भने नगरपालिकाको सहयोगम ५ लाख, अनलाईन सहयोगार्थ प्राप्त २ लाख संकलन भएको आयोजक समितिले जनाएको छ।
कृष्णपुर नगरपालिका का वडा नम्बर ४ मा २०८० फागुन २७ गतेदेखि चैत ३ गतेसम्म ग्वासी समैजी गौ संरक्षण धार्मिक महायज्ञ सञ्चालनमा भएको थियो।
आय–व्याय सार्वजनिक कार्यक्रममा कृष्णपुरका मेयर हेम राज ओझाले भने”अन्य ठाउमा आयोजना हुने महायज्ञमा घाटा हुने आयोजनाहरु विच मनमुटाव भएको सुनिन्थ्यो तर हाम्रो कृष्णपुरमा गौ:व्यवस्थापनका लागि आयोजित महायज्ञ बाट गौ संरक्षणका लागि २७ लाख बढी बचत/फाईदा भएको छ जुन निकै राम्रो कुरा हो, हामी गौशाला संरक्षण अक्षयकोष बनाएर रकम राख्छौ”।
त्यस्तै वडा अध्यक्ष धर्म बहादुर सिहले समाजमा सहयोग गर्ने भावना रहेमा विकास र आम समुदायका समस्या समाधान गर्न मद्दत पुग्ने गौ: व्यवस्थापन हुने बताएका छन्। साथै उनले वडाका विकासका लागि सबै एकजुट हुनुपर्ने; गौ:माता व्यवस्थापनमा सबैले हातेमालो गर्नुपर्ने; ग्वासी समैजी गौशालालाई कञ्चनपुरकै नमुना गौशाला बनाउने लक्ष्य रहेको बताएका छन्।