धनगढी: सुदुर पश्चिम प्रदेशमा मन्त्रीमण्डल विस्तार गरिएको छ। मुख्यमन्त्री दिर्घ बहादुर सोडारीले सोमबार दिउसो पाँच जना बिना विभागीयसहित आठ मन्त्री नियुक्त गरेर शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाएका थिए तर स्वतन्त्र सांसद डा. तारा जोशीले भने मन्त्री बन्न अस्विकार गरेका छन्। जोशी सपथ ग्रहणमा समेत सहभागी भएनन्।
सुदूरपश्चिममा ६ वटा मन्त्रालय रहेकोमा १० जना मन्त्री बनाउँदा चार वटा मन्त्रालय विभाजनको तयारीमा सरकार रहेको, आफूलाई दिने तयारी गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पनि फुटाउने तयारी रहेकाले मन्त्री हुन अनिच्छुक रहेको जोशीले बताएका छन्।
मुख्यमन्त्री सोडारीले एमालेका सांसद सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला मन्त्री र माओवादी केन्द्रका ओमबिक्रम भाट”सरल” लाई सामाजिक विकास मन्त्री मा नियुक्त गरेका छन्। त्यस्तै एमालेका सांसद बिरबहादुर थापा”पातल”, हिरा सार्की, माओवादी केन्द्रका अक्कल बहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका छन्।
नव नियुक्त सातै जना मन्त्रीले प्रदेश प्रमुख नजिर मियाँबाट सपथ खाइसकेका छन्। मुख्यमन्त्री सोडारीले यस अघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भुमि ब्यवस्था, कृषी तथा सहकारी मन्त्री नियुक्त गरेका थिए। अब नव नियुक्त मन्त्रीमण्डलले अब कस्तो काम गर्ला भन्ने चासोको विषय बनेको छ।