आठ वर्षमा भयभरको सबै पैसा सकिएपछि, क्यान्सर पीडित कस्तुरीले गरिन् अपिल…

कृष्णपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १० झलारी स्थायी घर भएकी ३५ वर्षीया कस्तुरी बिगत ८ वर्षदेखि कोलोन क्यान्सरबाट  (ठूलो आन्द्राको)  पीडित छिन् । सङ्घर्षले भरिएको यो मान्छेको जिन्दगीमा उनले कोलोन क्यान्सरबाट बच्न पाँच-पाँच पटक अपरेसन गरि सकेकी छिन् । दिशा गर्ने मलद्वारमा समेत क्यान्सर देखिएपछि उनको मलद्वार नै पूर्णरुपमा बन्द गरिएको छ । चिकित्सकले मलद्वार नजिकै दायाँ साइटबाट दिशा गर्ने द्वार खोली थैली राखिदिएका छन् ।

कोलोन क्यान्सरको अपरेसन पछि पिडादायी जीवन छँदै भएपनि उनको स्वास्थ्य सामान्य अवस्थामा फर्किएको थियो र उनी नियमित रुपमा चिकित्सकको निगरानी मै थिइन् तर, एकाएक फेरि पछिल्लो समयमा अचानक पेट दुख्ने समस्या देखिन थाल्यो । पछि भारतमा गई जचाउँदा उनमा फोक्सोको क्यान्सर देखिएको छ । हाल उनले भारतको राजिव गान्धि क्यान्सर अस्पतालमा फोक्सो क्यान्सरकाे उपचार गराउँदै छिन्।

भारतको राजिव गान्धि क्यान्सर अस्पतालले उपचारको लागि तत्काल १८ लाख भारु अर्थात् २८ लाख ८० हजार नेपाली चाहिने बताएको छ । पहिले नै उपचारमा धेरै रकम खर्च भइसकेकाले यति ठूलो रकम संकलन गर्न नसक्ने बताउँदै उनले भनिन्, – ‘मैले कसरी यति ठूलो रकम जम्मा गरौं ? मेरो परिवारसँग भएको सबै पैसा उपचारमै सकियो । त्यसैले कृपया मेरो जीवन बचाइदिनको लागि मलाई आर्थिक सहयोग गर्नुहोला ।’ 

समयमा नै पैसा जम्मा गर्न सकेमा चिकित्सकले रोग निको पार्न सकिने बताएका छन् । उनका श्रीमान नेपाली सेनामा कार्यरत थिए । श्रीमतीको उपचारमा बढी समय दिनु पर्ने भएकाले बाध्य भएर उनले जागिरबाट बिदा हुनु परेको छ । सबैले सक्दो सहयोग गरेर आफ्नो जन्मदिने आमालाई बचाइदिन उनका नाबालक सन्तानहरूले समेत आग्रह गरेका छन्।

कस्तुरीको यो दुःखद जीवनपाटोको पीडादायी अवस्थामा थोरै भएपनि मलमपट्टी लगाउन सहयोगी मनहरूले उहाँको बैंक खातामा सहयोग रकम पठाएर सहयोग गर्न सक्नुहुनेछ ।।

बैंक : ग्लोबल आइएमई बैंक (कोटेश्वर शाखा)
खाता नं : ०३६०७०१००१०३१५
खाता वालाको नाम : कस्तुरी साउद भुसाल

Facebook Comments Box