शुक्लाफाँटामा सार्वजनिक सुनुवाई; यस्ता छन् नगरपालिका का काम

झलारी: शुक्लाफाँटा नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ मा सम्पन्न गरेका कार्य/योजनाहरुको सार्वजनिक सुनुवाई गरेको छ। आज मंगलबार परामर्शदाता शुक्लाफाँटा मिडिया प्रा.लि महेन्द्रनगरसंगको साझेदारीमा सार्वजनिक सुनुवाई आयोजित गरेको हो। कार्यक्रमा एक वर्षे प्रगति सावर्जनिक गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा गरिएका कामहरुको प्रगति विवरण सर्वजनिक गरेको हो। नगरपालिकाले एक वर्षमा सडकको ट्रयाक खोल्ने काम ९.९६ किलोमिटर, सडक ग्राभेल १७.४ किलोमिटर, सडक कालोपत्रे ०.९८ किलोमिटर गरेको छ।

यसैगरी, नगरपालिकाले ४२ थान टी–बोरिङ, ६ थान स्यालो बोरिङ, ३ थान आर्टिजन बोरिङ जडान, ५२ विद्युत पोल खरिद, ४५ वटा ह्युम पाइप जडान गरेको छ। शुक्लाफाँटा नगरपालिकाका ३६ ठाउँमा सडक बत्ति जडान, ७ वटा सोलार बत्ति जडान, ५ वटा हाइमास्ट लाइट जडान गरिएको छ। शुक्लाफाँटाको योजना शाखाबाट उपभोक्ता समिति गठन गरि ८१ योजना कार्यान्वयनमा ल्याइएको छ।

नगरपालिकाले वडा नं. २ मा निर्माणधीन खानेपानी योजनाको पाइपलाइन जडान, कार्यालय भवन निर्माण र हाल ओभरहेड ट्यांक निर्माण भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए। उनका अनुसार वडा नं. १० मा निर्माण भइरहेको नगर स्तरीय कभर्ड हलको ७० प्रतिशत भौतिक प्रगति भएको छ भने वडा नं. ४ स्थित नगर अस्पतालको ६५ प्रतिशत भौतिक प्रगति भएको छ।

नगरपालिकाले सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत २ सय ५३ जनालाई ३० हजारका दरले अनुदान दिएको छ भने १ सय २८ जनालाई ५० हजारका दरले अनुदान दिएको छ। उक्त कार्यक्रमलाई नगरपालिकाले चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ। वडा नं. ३ को अधुरो स्वास्थ्य चौकी भवन, वडा नं. ९ को अधुरो स्वास्थ्य चौकी भवन र वडा नं. १२ को अधुरो थारु संग्राहलय भवन निर्माणलाई पनि पूर्णता दिएको नगरपालिकाले जनाएको छ। यसैगरी, नगरपालिकाले मुख्य बजार क्षेत्र वनसमितिदेखि कलुवापुरसम्म सडक अतिक्रमण हटाउनुका साथै वडा नं. ८ स्थित गौडी खोलामा नदीजन्य पदार्थ उत्खनन् तथा संकलनको ठेक्का लगाएर ४५ लाख राजश्व संकलन गरेको छ।

४ विद्यालय समायोजन

शुक्लाफाँटा नगरपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ म ४ वटा विद्यालयलाई समायोजन गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार न्यून विद्यार्थी भएका सरस्वती आधारभूत विद्यालय चित्रपुर, त्रिमुर्ति आधारभूत विद्यालय त्रिपुरेश्वर, शान्ति आधारभुत विद्यालय शान्तिपुर र मिलन आधारभुत विद्यालय आन्द्रजालालाई समायोजन गरिएको हो।

यस्तै, नगरपालिकाले प्रत्येक सामुदायिक विद्यालयमा स्थायी शिक्षक प्राधानाध्यापक व्यवस्थपान, स्थानीय विषय कक्षा १ देखि ८ सम्म कार्यान्वयन, एसईईलाई मध्यनजर गरि १ महिना अतिरिक्त कक्षा सञ्चालन गरेको छ। त्यसैगरी, शैक्षिक क्यालेन्डर निर्माण तथा प्रकाशन, आइटी स्रोत शिक्षकहरुलाई सूचना प्रविधिमा आधारित तालिम, विद्यालय सञ्चालन सम्बन्धि प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन, एकीकृत पाठ्यक्रम सम्बन्धि ४२ जना शिक्षकहरुलाई कस्टोमाइज तालिम दिइएको छ।

नगरपालिकाले सरस्वती माध्यमिक विद्यालय अमरपुर र जनजागृती माध्यमिक विद्यालय गणेशपुरमा विज्ञान प्रयोगशाला निर्माण गरेको छ। त्यस्तै, जनभावना आधारभुत विद्यालय नौखरी र बैजनाथ आधारभुत विद्यालय पारिफाँटामा सुचना प्रविधि प्रयोगशाला निर्माण गरिएको छ भने बैजनाथ आधारभुत विद्यालय लक्ष्मीपुरमा पुस्तकालय व्यवस्थापन गरिएको छ।

 

४७ हजार बढीलाई स्वास्थ्य सेवा

शुक्लाफाँटा नगरपालिकाले गत आर्थिक वर्षमा ४७ हजार ३ सय ९५ जनालाई स्वास्थ्य सेवा दिएको छ। नगरभित्रका स्वास्थ्य संस्थामा आएका उनीहरुलाई उपचार तथा परामर्श सेवा दिइएको हो। नगरपालिकामा १४ वटा स्वास्थ्य संस्था सञ्चालित छन्। अल्ट्रासाण्ड, इसीजी, प्रयोगशालासहित निशुल्क चिकित्सकीय सेवा दिदै आएको छ।

 

नगरभरका स्वास्थ्य संस्थाबाट १ हजार १ सय ३० जना गर्भवतीहरुको ग्रामिण अल्ट्रासाण्डबाट गर्भ परीक्षण, १ सय ३१ महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँचसँगै जोखिम देखिएकाहरुलाई प्रषण तथा परामर्श सेवा, सुत्केरी पोषण प्याकेज अन्तर्गत ४ सय २३ जना सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरेको नगरपालिकाको प्रगति प्रतिवेदनमा उल्लेख छ।

८३.२५ प्रतिशत बजेट खर्च

शुक्लाफाँटा नगरपालिकाले गत आर्थिक वर्षमा ८३.२५ प्रतिशत बजेट खर्च गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि विनियोजित अनुमानित ६५ करोड ७० लाख ३७ हजार ६ सय ५८ रुपैयाँ मध्ये ५४ करोड ६९ लाख ९८ हजार ९ सय १० रुपैयाँ अर्थात ८३.२५ प्रतिशत खर्च गरेको हो।

नगरपालिकाले अन्तर सरकारीतर्फ अनुमानित २७ करोड ३४ लाख, ५६ हजार २ सय ३५ रुपैयाँ मध्ये चालुतर्फ ३८ करोड २७ लाख ९८ हजार ९ सय (८९.७२ प्रतिशत), पुजिगततर्फ १६ करोड ४१ लाख ९९ हजार ९ सय ८० रुपैयाँ (७१.२८ प्रतिशत) खर्च गरिएको छ। आन्तरिक राजश्व संकलन लक्ष्य २ करोड ७५ लाख ८४ हजार राखेकोमा नगरपालिकाले ३ करोड ६६ लाख २ हजार ७ सय २ रुपैयाँ राजश्व संकलन गरेको छ।

शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरि एक वर्षमा गरिएका कामहरुको विवरण सर्वजनिक गरेको थियो। नगर प्रमुख रणबहादुर महराको अध्यक्षतामा भएको सार्वजनिक सुनवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले प्रगति विवरण सर्वजनिक गरेका थिए।

Facebook Comments Box