कञ्चनपुर: यो सालको आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औशी आज मनाईदै छ तर जस्तोसुकै अवस्थामा पनि सन्तानका लागि असिम स्नेह राख्ने आमाहरुलाई पुजिने दिन हाम्रो समाजमा आजसम्म प्रचलनमा छ ।
वास्तवमै अपार महिमाकी खानी आमा र सन्तानको लागि आज विशेष दिन, आमवष्य औंसी रहेको छ । विवाहित छोरीहरु आजकै दिन आमाको निकटताका लागि माइतिघर धाउने गर्दछन् ।
आमालाई वस्त्र, मिठाईलगायत प्रदान गरिने प्रचलन छ । आजको दिन आमालाई वस्त्र र मिष्ठान्न प्रदान खुसी पार्न सकेमा दुधको भार तिरिने जनविश्वास छ ।
आमालाई हामीले दिने खाना तथा वस्त्रले हामीमाथिको गुण तिरेर सकिन्न तैपनि यो आमा र सन्तान भेटघाटको अवसर हो। केही अपवादहरुलाई छाड्ने हो भने मानव जीवनमा सबैभन्दा बढी योगदान आमाको रहन्छ । आमाको महत्वलाई प्राचिनकालमा त शिक्षण प्रणाली मै समावेश गरिएको थियो । आमा शिक्षित भए सिंगो समाज शिक्षित हुने भन्दै सरकारी तवरबाट समेत पछिल्लो समय आमा शिक्षाको सवाललाई सशक्त रुपमा उठाइदै आएको छ ।
आमा नहुनेहरू भने आजको दिन विभिन्न धार्मिक स्थलमा गएर मातातीर्थ औशी मनाउने गर्दछन् । मातातीर्थमा रहेको कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै जल दिने चलन रहेको छ ।