काठमाडौ: नेपाल क्रिकेट संघ (क्यान) ले आज बोल कबोल (बिडिङ) प्रक्रियामार्फत नेपाल प्रिमियर लिग (एनपिएल) का फ्रेन्चाइज टोलीहरू बिक्री गरेको छ। फ्रेन्चाइज टिम खरिद गर्न इच्छुक संस्थाबीच भएको बिडिङमा सर्वाधिक ३ करोड ५७ लाख रुपैयाँमा पोखरा फ्रेन्चाइजको स्वामित्व ‘नेपाल टी-२० प्रा.लि.’ ले खरिद गरेको छ।
त्यस्तै, ‘कान्तिपुर पब्लिकेसन प्रा.लि.’ ले ३ करोड ३३ लाख ३ हजार ३३९ रुपैयाँमा काठमाडौं फ्रेन्चाइज खरिद गरेको छ। एनपिएल प्रतियोगिता आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने तयारी छ। यस प्रतियोगितामा चितवनको टोली चितवन मेडिकल कलेज (सीएमसी) ले १ करोड ७६ लाख १ हजार रुपैयाँमा खरिद गरेको छ।
अर्को टोली विराटनगरको स्वामित्व एम ए डी ड्रिम स्पोर्टसले १ करोड ५१ लाख रुपैयाँमा किनेको छ भने फर्चुन हेल्थ कियरले लुम्बिनीको फ्रेन्चाइज १ करोड ७६ लाख ४ रुपैयाँमा किनेको छ।
ड्रिम्स स्पोर्टसले जनकपुरको फ्रेन्चाइज २ करोड ५ लाख रुपैयाँमा खरिद गरेको छ। कर्णाली फ्रेन्चाइजको स्वामित्व हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजार रुपैयाँमा पाएको छ।
यस्तै, इम्पियर स्पोर्टसले १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँमा सुदूरपश्चिमको फ्रेन्चाइज खरिद गरेको छ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार बिडिङबाट प्राप्त रकम पहिलो वर्षका लागि फ्रेन्चाइज शुल्क हुनेछ। दोस्रो वर्षदेखि भने टोलीहरूले न्यूनतम फ्रेन्चाइज मूल्य वार्षिक रूपमा तिर्नुपर्नेछ। हाल क्यान र फ्रेन्चाइजबीचको सम्झौता अवधि निश्चित भइसकेको छैन। आधिकारिक सम्झौता केही दिनमै सम्पन्न हुने र यो समयावधि ८ देखि १० वर्षसम्म रहने बताइएको छ।