कृष्णपुरमा नाक, कान र घाँटी सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न, २ सय बढी स्थानीय लाभान्वित

गुलरिया: कृष्णपुर नगरपालिकामा नाक, कान तथा घाँटी सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। नगरपालिकाको आयोजना तथा सेती प्रादेशिक अस्पताल धनगढीको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर गरिएको हो। नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सेती अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा.सन्तोष डीसी रहेका थिए। कृष्णपुर नगरपालिकाले विभिन्न स्वास्थ्य शिविर गर्दै आएको नगर प्रमुख ओझाले बताएका छन्।

‘कृष्णपुर स्वास्थ्य चौकीमा नाक, कान र घाँटीको स्वास्थ्य शिविर सञ्चालन गरेका छौं,’ उनले भने, ‘बृद्ध भएपछि समस्या देखिने रहेछ, यहाँका नगरवासीलाई लक्षित गरेर शिविर सञ्चालन गरेका हौं।’ नाक, कान र घाँटीको स्वास्थ्य समस्या भएकाहरुलाई आवश्यक सामाग्री र औषधी समेत निःशुल्क वितरण गरिने उनले बताए। नगरपालिकाका १२ वटै स्वास्थ्य संस्थामा सबै सेवा निःशुल्क सञ्चालन गरिएको प्रमुख ओझाले बताए।

‘स्वास्थ्य सेवासँगै औषधी निःशुल्क उपलब्ध गराउँछौं, कृष्णपुर स्वास्थ्य चौकीबाट २४ सैं घण्टा सेवा दिइरहेका छौं,’ उनले भने, ‘ल्याब सम्बन्धी सेवाहरु प्नि निःशुल्क दिन्छौं, हामीसँग औषधी पनि प्रयाप्त छ।’ नगर अस्पताल निर्माणको प्रक्रियामा रहेको नगर प्रमुख ओझाले बताए। ‘नगर अस्पताल निर्माण गर्ने प्रक्रियामा छौं, स्वास्थ्य मन्त्रालयमा फाइल पठाएका छौं,’ उनले भने, ‘जग्गा प्राप्ती र नक्सा पासको काम सकिएपछि अस्पताल निर्माण अगाडि बढाउँछौं।’

कृष्णपुर स्वास्थ्य चौकीमा सर्पदंश उपचार केन्द्र पनि बनाइरहेको उनले बताए। ‘यस वर्ष भेन्टिलेटरसहितको सर्पदंश उपचार केन्द्र पनि बनाइरहेका छौं,’ उनले भने, ‘सर्पदंशको समस्या छ, यो बनेपछि शुक्लाफाँटा, बेदकोट र गोदावरी नगरपालिकाका बासिन्दालाई पनि सेवा लिन सहज हुनेछ।’ नगरवासीलाई नजिकमै सेवा दिनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नगर उपप्रमुख द्रोपती रानाले बताइन्। ‘नगरवासीलाई गाउँ घरमै सेवा दिने उदेश्यका साथ विभिन्न रोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौं,’ उनले भनिन्, ‘यस्ता शिविरहरुलाई अगामी दिनहरुमा पनि सञ्चालन गर्नेछौं।’

नाक, कान तथा घाँटी सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा २ सय १ जना सेवाग्राहीले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख रतन विष्टले बताएका छन्। उनका अनुसार सेवाग्राहीलाई औषधी र श्रवण सामाग्री समेत वितरण गरिएको छ।

Facebook Comments Box