कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ वाणी मछेली खेलमैदान मा आज बुधबार देखि प्रथम ए.वि.एफ.सी खुल्ला फुटबल प्रतियोगिता २०८१ को सुरुवात गरिएको छ। प्रतियोगिताको कृष्णपुर-२ का वडा अध्यक्ष अर्जुन सिह साउदले उद्घाटन गरेका हुन्। आज भएको उद्घाटन खेल आयोजक(ए.वि.एफ.सि) ग्रासरुट वाणी र नवज्योति स्पोर्ट्स क्लब”भेट्रान”बीच भएको थियो। जसमा आयोजक ग्रासरुट लाई ० का विरुद्ध १ गोल गर्दै नवज्योति स्पोर्ट्स क्लब बिजेता बनेको छ।
कृष्णपुर नगरपालिका र कृष्णपुर वडा नं. २ को सहयोगमा ए.वि एफ.सी युवा क्लब र मछेली युवा क्लबको संयुक्त आयोजनामा आयोजित प्रतियोगितामा खेल संयोजक सुरेन्द्र चौधरी को सभाअध्यक्षता रहेको थियो भने वडा नं. २ का वडा अध्यक्ष अर्जुन सिह साउद प्रमुख अतिथी रहेका थिए। त्यस्तै विशिष्ट अतिथिमा वडा नं. २ का वडा सदस्य राजेन्द्र बहादुर सिह, जित बहादुर चौधरी रहेका थिए। प्रतियोगिताको उद्घाटन समारोहमा समाजसेवी, खेलप्रेमी लगायत स्थानीयहरुको समेत उपस्थिति रहेको थियो।
कृष्णपुर-२ फुटबलको हबका रुपमा विकास भएको, स्थानिय खेलाडी उत्पादनमा वडाले विशेष सहयोग गरेको साथै फुटबल खेलाडीहरूलाई आवश्यक पर्ने सहयोग वडाले निरन्तर गर्ने वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छन्।
प्रतियोगितामा २३ टिम सहभागी रहेको र प्रतियोगिता आउदो कार्तिक २७ गते समापन गरिने छ। प्रतियोगितामा विजेता टिमले नगद ३५ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक सुरेन्द्र चौधरीले बताएका छन्।
प्रतियोगिताको उद्घाटन समारोहमा मछेली युवा क्लब का सह-सचिव श्याम मल्लले स्वागत मन्तव्य राखेका थिए भने उद्घाटन समारोहको सञ्चालन दिपेन्द्र पालले गरेका थिए।