काठमाडौ: नेपाल प्रिमियर लिग(एनपीएल)मा सुदूरपश्चिम रोयल्सले काठमाडौ गोर्खाजलाई ७३ रनले पराजित गरेको छ। बिहीवार भएको खेलमा १६८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको काठमाडौ गोर्खाज १५.५ ओभरमा ९४ रन बनाएर अलआउट भएको हो। सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो भने काठमान्डुको दोस्रो हार हो। काठमाडौका लागि स्टीफन एस्किनाजीले ३७ रन बनाएका थिए।
सुमित महर्जनले १४, गेर्हार्ड इरास्मसले १० र भीम सार्कीले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। सुदूरपश्चिमका लागि नरेन साउदले ५ विकेट लिए। अविनाश बोहराले २, तथा सैफ जैब र ब्राण्डन म्याकमुलन ले १–१ विकेट लिए। यसअघि सुदूरपश्चिमले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलनले अर्धशतकीय पारी खेले। उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन जोडे। ओपनर विनोद भण्डारीले ३५ र सैफ जैबले ११ रन बनाए। रोहन मुस्तफा भने ४ रनमा आउट भए। कप्तान दीपेन्द्रसिंह ऐरी ४३ रनमा आउट भए। उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए।.