लालझाडी छैठौँ गाउँपालिका स्तरीय १५ औ राष्ट्रपति रनिङ शिल्डमा भानु मा.वि प्रथम; दोस्रो सरस्वती मा.वि

नरेश राना/कञ्चनपुर: लालझाडी गाउँपालिकामा छैटौँ गाउँपालिका स्तरीय तथा १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको आयोजना श्री स्वतन्त्र मावि पर्सियाले गरेको लालझाडी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष प्रकाश रानाले बताएका छन्। उक्त रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यालयका छात्रछात्राहरूले लङजम्प, ट्रिपलजम्प, कबड्डी, भलिबल, कराँते, तेक्वान्डो र अन्य एथलेटिक्स खेलहरूमा भाग लिँदै उत्कृष्ट प्रदर्शन गरेको थियो।

प्रतियोगिताको पदक तालिकामा श्री भानु मावि कञ्जले २१ स्वर्ण, १४ रजत र १६ कांस्य पदकसहित ५१ पदक जित्दै समग्रतर्फ प्रथम स्थान हासिल गरेको छ। श्री सरस्वती मावि छोटी पर्सियाले १४ स्वर्ण, ६ रजत र ९ कांस्य पदकसहित २९ पदक प्राप्त गर्दै दोस्रो स्थानमा रह्यो। त्यस्तै, श्री शारदा मावि नौरङ्गाले ८ स्वर्ण, ५ रजत र ७ कांस्य पदकसहित २० पदक हासिल गरी तेस्रो स्थान प्राप्त गरेको आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको आयोजक विद्यालय श्री स्वतन्त्र माविले उत्कृष्ट व्यवस्थापन मात्र नगरेर प्रतिस्पर्धात्मक रूपमा पनि आफ्नो उपस्थिति दरिलो बनायो। विद्यालयले १ स्वर्ण, ४ रजत र ३ कांस्य पदकसहित ८ पदक हासिल गरेको छ। यसले आयोजकको जिम्मेवारी र प्रतिस्पर्धात्मक क्षमतालाई समान रूपमा उजागर गरेको छ।

कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास र शारीरिक तन्दुरुस्तीको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको प्रथम स्थान हासिल गर्न सफल भानु माविका प्रधानाध्यापक वेदप्रसाद उपाध्यायले बताएका छन्।

विद्यार्थीहरूले सामूहिक भावना, सहकार्य र प्रतिस्पर्धात्मक क्षमतामा आफूलाई उभ्याएका थिए। यसले खेलकुदप्रतिको रुचि र जोसलाई थप प्रोत्साहन दिएको उनको भनाइ छ। प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदलाई प्रवर्द्धन गर्न मात्र नभई विद्यार्थीहरूको प्रतिभा उजागर गर्न महत्त्वपूर्ण मञ्चको भूमिका खेलेको द्वितीय स्थान हासिल गर्न सफल सरस्वती मावि छोटी पर्सियाका प्रधानाध्यापक तारामणि न्यौपानेको भनाइ छ।

समापन समारोहमा विजयी विद्यालयहरूलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको छ। यसका साथै, प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः रु १५ हजार, १० हजार र ५ हजार प्रदान गरिएको आयोजक स्वतन्त्र माविका प्रधानाध्यापक जगन्नाथ भट्टले बताए। समापन समारोहमा प्रमुख अतिथिको रूपमा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना उपस्थित रहेको थियो। उनले प्रतियोगितामा सहभागी भएका सबै विद्यालय र विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा पुर्‍याउने योगदानको प्रशंसा गरेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक र अन्य खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो।

यो प्रतियोगिताले लालझाडी गाउँपालिकाको शैक्षिक क्षेत्रलाई खेलकुदसँग एकीकृत गर्दै विद्यार्थीहरूको बहुपक्षीय विकासमा उल्लेखनीय योगदान पुर्‍याएको लालझाडी गाउँपालिका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले बताएका छ्न्।

Facebook Comments Box