देखतभुलीमा प्रथम वडा स्तरीय सांस्कृतिक महोत्सव हुँदै

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा प्रथम वडा स्तरीय सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। महोत्सव वडा नं. ३ को आयोजनामा आउदो माघ ११ र १२ गते दुई दिनसम्म सञ्चालन हुने वडा अध्यक्ष खेम राज चौधरीले बताएका छन्। महोत्सवको उद्देश्य मनोरञ्जन सहित स्थानीय कला, संस्कृति, परम्परा, तथा उत्पादित सामग्रीको प्रवर्द्धन गर्नु रहेको वडा अध्यक्ष चौधरीले बताएका छन्।

कार्यक्रममा स्थानीय लोक संस्कृतिका झाँकी, नृत्य, तथा सांस्कृतिक प्रस्तुतिहरूका साथै विभिन्न व्यावसायिक स्टलहरू राखिनेछ। महोत्सवले वडा स्तरीय पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने विश्वास गरेको वडा सदस्य भिम राज जोशीले बताएका छन्।

महोत्सवमा ख्याति प्राप्त गायिका लक्ष्मी राना, गायक भरत भट्ट, मोडल रितु चौधरी, मोडल नेहलजा चौधरी लगायत विभिन्न स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, कृषि तथा घरेलु उत्पादनका प्रदर्शनी, तथा बालबालिकाका लागि मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिनेछ।

कृष्णपुर नगरपालिका वडा नं. ३ मै पहिलो पटक महोत्सव आयोजना गरिएको साथै आगामी बर्ष अझै थप परिमार्जन व्यवस्थापन सहित आयोजना गरिने आयोजकले जनाएको छ। महोत्सवले वडाबासीबीच आपसी एकता र समृद्धिको भावना अभिवृद्धि गर्न मद्दत गर्ने अध्यक्ष चौधरीले बताएका छन्। महोत्सव कृष्णपुर-३ स्थित नन्द मा.वि देखतभुलीको प्राङ्गणमा हुनेछ। महोत्सवमा सहभागिताका लागि सबैलाई वडा अध्यक्ष चौधरीले आग्रह/निमन्त्रणा सहित अनुरोध समेत गरेका छन्।

Facebook Comments Box