कञ्चनपुर: कृष्णपुर नगरपालिकाले नगरवासीका लागि निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ। तीन लाख चार हजार रुपैयाँ लागतमा ठेक्का प्रक्रियामार्फत शव चिस्यानयन्त्र खरिद गरी नगरपालिकाले यो सेवा सुरु गरेको हो। नगरपालिकाले विदेश तथा देशका अन्य स्थानमा रहेका आफन्तको मृत्यु भएपछि घर ल्याउन समय लाग्ने अवस्थामा शवलाई चारदेखि पाँच दिनसम्म सुरक्षित राख्न सकिने सुविधा प्रदान गरेको छ। शव चिस्यान सेवाको सञ्चालनसँगै नगर क्षेत्रभित्र बसोबास गर्ने नागरिकलाई शव व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।
नगरप्रमुख हेमराज ओझाका अनुसार यो सेवा नगर क्षेत्रभित्रका आवश्यकता परेका स्थानमा पूर्ण रूपमा निःशुल्क हुनेछ। उनले भने, “नगर क्षेत्रभित्र यन्त्रको माग भएका ठाउँमा शव चिस्यानयन्त्र पुर्याउन नगरपालिकाबाट कर्मचारी खटाइनेछ। शवलाई चिस्यानयन्त्रमा राख्न वा प्रयोग गरेबापत कुनै शुल्क लिइने छैन। सेवा पूर्ण रूपमा निःशुल्क रहनेछ।”
यस सेवाले विशेष गरी विदेशमा रोजगारीका सिलसिलामा रहेका परिवारका सदस्यहरूको मृत्यु भएमा शव घर ल्याउन लाग्ने समयसम्म सुरक्षित राख्न सहयोग गर्नेछ। नगरपालिकाले यन्त्र घरसम्म पुर्याउने तथा पुनः कार्यालयसम्म ल्याउनसमेत सुविधा दिने जनाएको छ।
नगर प्रमुख ओझाले नगरवासीका लागि यो सेवा जनमुखी र उपयोगी हुने विश्वास व्यक्त गरे। उनले थपे, “नगर क्षेत्रभित्रको कुनै पनि परिवारलाई यस सेवाबाट राहत दिन हामी सधैँ तत्पर छौँ। नागरिकको समस्यालाई कम गर्ने उद्देश्यले यो सेवा सञ्चालन गरिएको हो।”

कृष्णपुर नगरपालिकाको यो कदमलाई नागरिकस्तरबाट व्यापक प्रशंसा प्राप्त भएको छ। शव व्यवस्थापनमा कठिनाइ भोगिरहेका नागरिकका लागि यो सेवा महत्वपूर्ण सहयोगका रूपमा रहने अनुमान गरिएको छ।