कञ्चनपुर – स्थानीय युवाहरुले नन्द माध्यमिक विद्यालय (नन्द मा.वि.) को खेलमैदानको संरक्षण र प्रयोगको माग गर्दै बिहीवार दबाब भेला आयोजना गर्दै आन्दोलित बनेका छन्। उक्त भेलामा गाउँका विभिन्न क्षेत्रका युवाहरु, स्थानीय अभिभावक, समाजसेवी, र विद्यालयका विद्यार्थीहरुको व्यापक उपस्थिति रहेको थियो। देखतभुली क्षेत्रका खेलमैदान अभावका कारण युवाहरुलाई खेलकुदमा असहज भएको स्थानिय युवाहरुले बताएका छन्।
युवाहरुले विद्यालय अन्तर्गत ठूलो क्षेत्रफलमा रहेको जमिन लाई खेलमैदान बनाउनु पर्ने माग राखेका छन्। सार्वजनिक खेलकुद गतिविधि र स्थानीय प्रतियोगिताका लागि सुरक्षित बनाउन जोडदार माग गरेका छन्। उनीहरुले खेलमैदानको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गर्नुपर्ने आवश्यकता औंल्याए। उक्त जमिन विगत देखि विद्यालयले उखु खेतीका लागि भाडामा दिदैआएको थियो। तर यसपालि भने युवाहरुले भाडामा दिनुको साटो खेलमैदान हुनुपर्ने माग राख्दै हस्तक्षेप गरेका हुन। भेलामा बोल्दै स्थानीय युवा खिम सिह धामीले भने”; स्थानीय युवाहरूका लागि हामीले खेलमैदान चाहेका छौ, खेलमैदान युवाहरुको शारीरिक र मानसिक विकासका लागि अपरिहार्य भएको बताउँदै भने, “नन्द मा.वि. को खेलमैदान विद्यालयका विद्यार्थी मात्र नभई, गाउँका सम्पूर्ण युवाहरुको साझा थलो हो। यसलाई व्यवस्थित गर्दै खेलमैदान निर्माण गर्नुपर्छ।” धामी देखतभुली युवा समाज का अध्यक्ष समेत हुन।

यस दबाब भेलापछि युवाहरुले सरोकारवालाहरुलाई ज्ञापनपत्र बुझाएको समेत स्थानीयहरुले बताएका छन्। उनीहरुले छिटोभन्दा छिटो खेलमैदान संरक्षित र व्यवस्थित नगरे थप आन्दोलनको चेतावनी पनि दिएका छन्।
खेलमैदानको अभावले देखतभुलिका युवाहरुको खेलकुद र प्रतिभा विकासमा बाधा परिरहेको भन्दै यस विषयमा चाँडो कदम चाल्न स्थानीय तहलाई आग्रह गरिएको स्थानीय युवाहरुले बताएका छन्।