लालझाडी: कञ्चनपुरको लालझाडी गाउँपालिकामा एच.पि.भि. (ह्यूमन प्यापिलोमा भाइरस) खोप सम्बन्धि पालिका स्तरीय खोप समन्वय समिती तथा सरोकारवालाहरु लाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय स्वास्थ्यकर्मी, शिक्षक, अभिभावक, र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा एच.पि.भि. खोपको महत्त्व, यसको प्रभावकारिता, र बालिकाहरूलाई यो खोप किन आवश्यक छ भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरियो। गर्भाशयको मुखको क्यान्सर रोकथामका लागि एच.पि.भि. खोप अत्यन्त प्रभावकारी मानिन्छ। यसले किशोरावस्थाका बालिकाहरूलाई भविष्यमा क्यान्सरको जोखिमबाट बचाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।
स्वास्थ्य शाखाका प्रमुखले कार्यक्रमलाई सम्बोधन गर्दै अभिभावक तथा समुदायलाई खोप लगाउन प्रोत्साहित गर्न आग्रह गरे। सहभागीहरूले खोप अभियानलाई प्रभावकारी बनाउँदै प्रत्येक लक्षित बालिकासम्म पुग्नका लागि सबैले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिए।

लालझाडी गाउँपालिकाले आगामी दिनमा यस विषयमा थप जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरेको छ। कार्यक्रममा सहभागीहरूबीच सकारात्मक छलफल र सहकार्यका लागि प्रतिबद्धता व्यक्त गरिएको थियो।