सुनिल ऐर/कञ्चनपुर: कृष्णपुर नगरपालिकाको वडा नम्बर ३ मा हिजो शुक्रवार पहिलो पटक आयोजित वडा स्तरीय सांस्कृतिक महोत्सव २०८१ भव्य रूपमा उद्घाटन भएको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथी तथा सुदूरपश्चिम प्रदेश सरकार का भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा “पातल”ले गरेका छन्।
महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले स्थानीय संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले स्थानीय कला र संस्कृति मात्र नभई कृषि, व्यापार र पर्यटन प्रवर्द्धनका लागि राज्यले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सभाअध्यक्षता वडा नम्बर ३ का अध्यक्ष खेम राज चौधरीले गरेका थिए। चौधरीले महोत्सवले स्थानीय समुदायको एकता र सहकार्यलाई सुदृढ गर्दै सांस्कृतिक विविधताको प्रचारमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
महोत्सवको उद्घाटनमा गायिका लक्ष्मी राना, मोडल नेहलजा चौधरी लगायतका स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो। दुई दिने वडा स्तरीय महोत्सव मा आज शनिबार १२ गते गायक भरत भट्ट, मोडल रितु चौधरी लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। उद्घाटन समारोहमा विशिष्ट अतिथी पुर्व प्रदेश सभा सदस्य महेश दत्त जोशी, अतिथिमा कार्यापालिका सदस्य, वडा सदस्य, नन्द मा.वि मा अध्यक्ष दिपक खत्री, लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो भने महोत्सवको उद्घोषण आशा चौधरी र दशीराम चौधरीले गरेका थिए।