देखतभुली/सुनिल ऐर: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ३ देखतभुलिको आयोजनामा आयोजित प्रथम वडा स्तरीय सांस्कृतिक महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको महोत्सव माघ ११ र १२ गते आयोजित गरिएको थियो।
वडा अध्यक्ष खेम राज चौधरीको सभाअध्यक्षतामा सम्पन्न महोत्सवमा स्थानीय संस्कृति, परम्परा र पहिचानलाई उजागर गर्न विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरियो। महोत्सवले स्थानीय बासिन्दाहरूको व्यापक सहभागिता र उत्साह बटुल्न सफल भएको छ।
कार्यक्रममा प्रमुख अतिथी निवर्तमान प्रदेश सभा उप-सभामुख निर्मला वडाल जोशी, विशिष्ट अतिथी संविधान सदस्य कमल क्षेत्र, कृष्णपुर-४ का वडा अध्यक्ष धर्म बहादुर सिह, कृष्णपुर-६ का वडा अध्यक्ष बाबुराम चौधरी लगायतको उपस्थिति रहेको थियो।
महोत्सवका मुख्य आकर्षणहरूमा परम्परागत नृत्य, स्थानीय खाना प्रदर्शनी, लोकगीत प्रतियोगिता र बालबालिकाका सिर्जनात्मक प्रस्तुति थिए। कार्यक्रममा स्थानीय कलाकारहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै उपस्थितलाई मनोरञ्जन प्रदान गरे।

सभाअध्यक्ष चौधरीले महोत्सवको मुख्य उद्देश्य स्थानीय संस्कृति र परम्परालाई जोगाउने र नयाँ पुस्तालाई यसको महत्व बुझाउने रहेको बताए। उनले यस किसिमका कार्यक्रमहरूले समुदायबीच एकता र सहयोग भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
यस महोत्सवले देखतभुलिमा सांस्कृतिक विविधतालाई प्रवर्द्धन गर्नका साथै स्थानीय कला र संस्कृतिको प्रचार-प्रसारमा योगदान पुर्याएको छ। आयोजकहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।