कृष्णपुर: कृष्णपुर-२ वाणीस्थित जे.बि.एकेडेमीले आफ्नो १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०८१ माघ २० गते भव्य सांस्कृतिक कार्यक्रमका साथ मनाउने भएको छ। विद्यालयका संस्थापक तथा प्रिन्सिपल जगदीश सेटीका अनुसार २०६६ सालमा स्थापना भएको यो विद्यालयले १५ वर्ष पूरा गरेको उपलक्ष्यमा विविध कार्यक्रम आयोजना गरिँदैछ।
यस अवसरमा २०८१ सालको सम्पूर्ण शुल्क चुक्ता गर्ने अभिभावकहरूका लागि रू. १ लाख नगद उपहार राखिएको छ। शुल्क चुक्ता गरेका अभिभावकहरूमध्ये गोलाप्रथामार्फत छानिएका एकजना भाग्यशाली अभिभावकलाई उक्त रकम प्रदान गरिनेछ। इच्छुक अभिभावकहरूले माघ १८ गतेभित्र सम्पूर्ण शुल्क बुझाइसक्नुपर्नेछ।
राष्ट्रपतिकपका विजेता खेलाडीलाई पुरस्कार
विद्यालयले कृष्णपुर नगरस्तरीय राष्ट्रपतिकप रनिङ शिल्डमा स्वर्णपदक जितेका खेलाडीहरूलाई जनही रू. ५,००० नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गर्ने जनाएको छ। त्यसैगरी, २०८० सालमा कक्षा १० र १२ को बोर्ड परीक्षा उत्तीर्ण गरेका सम्पूर्ण विद्यार्थीलाई सम्मान गरिनेछ।

प्रशंसनीय कार्यका लागि सम्मान कार्यक्रम
वार्षिकोत्सवका अवसरमा विद्यालयमा वर्षभरि भएका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, मेधावी विद्यार्थी, उत्कृष्ट स्टाफ, र अभिभावकलाई समेत सम्मान गरिनेछ।
सांस्कृतिक प्रस्तुति र निमन्त्रणा
कार्यक्रममा विद्यार्थीहरूद्वारा नृत्य, गीत, नाटक र मन्तव्यजस्ता सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिनेछ। विद्यालयका हालका र भूतपूर्व विद्यार्थी, अभिभावक, स्टाफ, तथा समितिका पदाधिकारीहरूलाई कार्यक्रममा निमन्त्रणा गरिएको छ। विद्यालयले कार्यक्रम भव्य बनाउन सबैको सहयोग र उपस्थिति अपेक्षा गरेको छ।