कञ्चनपुर: लालझाडी गाउँपालिकाको समग्र विकास र जंगली जनावरबाट पीडित जनताको राहतका विषयमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिर बहादुर थापासँग विशेष छलफल सम्पन्न भएको छ। छलफलमा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले जंगली जनावरले गर्ने क्षतिका लागि क्षतिपूर्ति व्यवस्थाको अभावबारे गम्भीर चिन्ता व्यक्त गरेका थिए।
अध्यक्ष रानाले सुदूरपश्चिम प्रदेश सरकारको हालको कार्यविधिमा यस्तो क्षतिपूर्ति समेटिएको नदेखिएको भन्दै यसलाई चाँडै सुधार गर्न आग्रह गरेका छन्। पालिका अध्यक्षको आग्रहमा मन्त्री थापाले आगामी मन्त्रिपरिषद् बैठकमा यस विषयलाई प्राथमिकताका साथ उठाउँदै पीडित जनताको माग सम्बोधन गर्ने वाचा गरेका छन।

त्यसैगरी, छलफलमा कृषि क्षेत्रको विकास, तटबन्ध निर्माण, र समग्र पूर्वाधार विकासका लागि योजना निर्माण तथा समन्वय तीव्र पार्ने विषयमा पनि गहन बहस भएको थियो। मन्त्री थापाले कृषि क्षेत्रलाई बलियो बनाउन आवश्यक योजनालाई चाँडै निर्णयमा पुर्याईने विश्वास व्यक्त गरेका छन्।
लालझाडीको कृषिक्षेत्रलाई उन्नत बनाउन कृषि मन्त्रालय र पालिका बीच सहकार्य गर्दै आधुनिक प्रविधि र योजनाबद्ध विकासमा ध्यान दिने मन्त्री थापाको प्रतिबद्धताले स्थानीय किसानमा आशा जागेको अध्यक्ष रानाले बताएका छन्।