कञ्चनपुर — स्थानीय सुरक्षा प्रवर्धनका लागि जडान गरिएका सिसिटिभी क्यामरा बिग्रिएको महिनौँ बित्दासमेत मर्मत नगरिँदा अपराधका घटनाहरू बढ्न थालेका छन्। पछिल्लो पटक कृष्णपुर नगरपालिका–२, देखतभुली रोडमा मोटरसाइकल चोरी भएको घटना यस्तै लापरबाहीको पछिल्लो उदाहरण बनेको छ।
गए राति करिब ८:३० बजे Super Splendor (म १ प ६०४४) नम्बरको मोटरसाइकल चोरी भएको छ। उक्त मोटरसाइकल गणेश गिरीको नाममा दर्ता रहेको बताइएको छ। मोटरसाइकल महेश नाथको घरअगाडि पार्किङ गरिएको थियो। नाथका ज्वाइँ आशिष नाथ वाणी भेटघाटका लागि आएका बेला चोरी भएको नाथले बताएका छन्।
सिसिटिभी बिग्रिएको लामो समय बित्यो, स्थानीय सरकार व्यापक ढिलासुस्ती
चोरी भएको स्थान नजिकै रहेको सिसिटिभी क्यामरा लामो समयदेखि बिग्रिएकोस्थानीयहरूले बताएका छन्। यदि क्यामरा सञ्चालनमा भएको भए चोरीको घटनाबारे प्रमाण जुटाउन सकिन्थ्यो।

स्थानीय बासिन्दाले पटक–पटक नगरपालिकासँग सिसिटिभी मर्मतको माग गरे पनि अहिलेसम्म कुनै पहल नभएको गुनासो गरेका छन्। “नगरपालिकाले सुरक्षा प्रवर्धनका लागि लाखौँ रुपैयाँ खर्चेर क्यामरा जडान गर्यो, तर नियमित मर्मत नगर्दा कुनै उपयोग छैन,” एक स्थानीय बासिन्दाले भने।
प्रहरी अनुसन्धानमा चुनौती
सिसिटिभी फुटेज अभावमा प्रहरीले अनुसन्धान गर्न कठिनाइ भोग्नुपरेको जनाएको छ। चोरी भएको मोटरसाइकलको खोजीकार्य जारी रहेको अस्थायी प्रहरी पोष्ट वाणीले जानकारी दिएको छ।
स्थानीय सरकारको हेलचक्र्याइँप्रति आक्रोश
नगरपालिकाले समयमै सिसिटिभी मर्मत नगरेको भन्दै स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन्। “चोरीका घटना बढ्दै गएका छन्, तर नगरपालिकाले सिसिटिभी मर्मतमा कुनै चासो देखाएको छैन,” एक व्यापारीले गुनासो गरे।
हाल कृष्णपुर-२ मा मात्रै सार्वजनिक स्थलमा जडित २० सिसिटिभ मध्ये ४ सिसिटिभि क्यामर मात्र चलिरहेका छन् भने महिनौ देखि बिग्रेका छन्। स्थानीयहरूले चाँडै सिसिटिभी मर्मत गरी सञ्चालनमा ल्याउन र सुरक्षा प्रवर्धनमा नगरपालिकाले गम्भीर ध्यान दिनुपर्ने माग गरेका छन्। केही महिना अघि मात्रै पनि कृष्णपुर-२ बाटै एक स्थानीय को घर आगनबाटै मोटरसाइकल चोरी भएको थियो। सिसिटिभी मर्मतमा स्थानीय सरकार गम्भीर नहुदा चोरीको समस्या झनै बढेको स्थानीयहरुको गुनासो छ।
स्थानीयहरू सतर्क रहन आग्रह
हालका दिनहरूमा चोरीका घटनाहरू बढ्दै गएको भन्दै प्रहरी प्रशासनले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। घर बाहिर पार्किङ गर्दा सुरक्षा व्यवस्था मजबुत बनाउन र शंका लागेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ।