भीमदत्तका कांग्रेस नगर सभापति अच्युत मृत फेला

कञ्चनपुर: नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमितिका सभापति अच्युत कलौनी भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोकनजिक मृत फेला परेका छन्। शनिबार बिहान सडक पेटीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार प्रारम्भिक अनुसन्धानमा शरीरमा कुनै बाह्य चोटपटक नदेखिएको भए पनि मृत्युको कारण खुलेको छैन। घटनाको विस्तृत अनुसन्धानका लागि धनगढीबाट तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको छ।

नेपाल विद्यार्थी संघको राजनीतिबाट नेपाली कांग्रेसको मूलधारमा आएका कलौनी नेविसंघका केन्द्रीय सहमहामन्त्रीसमेत भइसकेका थिए। उनी महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्षसमेत थिए।

कलौनीको घर घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको छ। प्रहरीले हाल शवलाई सुरक्षित राखी अनुसन्धान जारी राखेको जनाएको छ।

Facebook Comments Box