कञ्चनपुर – गत माघ १६ गते बुधबार साहित्यकार ‘सिर्जन श्री’ (दिपेन्द्र पाल)को सातौँ कृति ‘घाउमाथिका चुम्बन’ गजल सङ्ग्रहको लोकार्पण बैतडीमा सम्पन्न भएको छ। दशरथ चन्द साहित्य उत्सव तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी अन्तर्गत आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले पुस्तक विमोचन गरेका थिए।
साहित्यकार सिर्जन श्री, जो लामो समयदेखि प्रवासमा रहेर नेपाली साहित्य विशेषगरी गजलको उन्नयनमा योगदान दिइरहेका थिए। अनाममण्डली मलेसिया र अन्तर्राष्ट्रिय गजल मञ्चका संस्थापक समेत हुन। हाल उनि प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिम सचिव तथा अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सचिव का रूपमा क्रियाशील रहेका छन्।
साहित्यिक योगदान र सम्मानहरू
साहित्यकार सिर्जन श्रीलाई नेपाली साहित्यमा पुर्याउनु भएको योगदानको कदर गर्दै सुदूरपश्चिम प्रदेश सरकारबाट प्रादेशिक प्रतिभा पुरस्कार (२०७९) प्रदान गरिएको थियो। उनले देवकोटा पुरस्कार (२००८), मानसखण्ड चर्मण्यावती साहित्य गौरव सम्मान (२०८०), अमर शहीद दशरथ चन्द स्मृति राष्ट्रिय प्रतिभा सम्मान (२०८१) लगायत नेपाल, भारत, मलेसिया, र अन्य देशहरूबाट ५० भन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्।

उनका प्रकाशित कृतिहरूमा माटो हाँस्छ, बिम्ब, माटो भन्नु मुटु रैछ, समुद्र दन्केपछि, सिर्जनाका स्वरहरू, समुद्रका छल्का लगायतका गजल सङ्ग्रह समावेश छन्। साथै, उनले दीपाञ्जली गजल प्रधान पत्रिका, यात्रा, सिर्जनाका स्वरहरू जस्ता प्रकाशनहरूको सम्पादन समेत गरेका थिए।
बिमोचन कार्यक्रममा साहित्यकारहरूको उपस्थिति
बैतडी जिल्लामा सम्पन्न बिमोचन समारोहमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञद्वय डा. मधुसूदन गिरि र डा. कृष्णराज अधिकारी, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, दशरथ चन्द नगरपालिकाका नगरप्रमुख, बैतडी जिल्लाका सिडिओ, साहित्यकार वीरबहादुर चन्द विश्राम, श्रेष्ठपृया पत्थर, हेमबाबु लेखक, रमेश पन्त मितबन्धु, कविराज भट्ट, हरिष भट्ट, स्यामसुन्दर ढकाल, टेकराज पन्त, मुकुन्द कलौनी, बासुदेव पाण्डे, तिर्थराज पाण्डे, पञ्चमराज भट्ट, तिर्थराज जोशी, प्रजापति नेगी, लोकविक्रम मल्ल, चाँदनी भट्ट, तेजराम लोहार, प्रेमप्रकाश कलौनी, नारा जोशी, हेमन्ती जोशी, चन्द्रकला पन्त, धर्मराज जोशी, तोयनाथ भट्ट, नारायणी भट्ट, साथै भारतबाट आएका डा. अरुणप्रताप भदौरिया, ललित मैर्य, प्रयागी, विवेक बादल, भगवती दनपुरिया, ललित लोहार।लगायतका सयौँ साहित्यकार र कलाकारहरूको उपस्थिति रहेको थियो।
साहित्यिक यात्रामा एक नयाँ कोसेढुङ्गा
साहित्यकार सिर्जन श्रीले ‘घाउमाथिका चुम्बन’ गजल सङ्ग्रह नेपाली गजल साहित्यमा एउटा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरेका छन्। उनका गजलहरू नेपाली समाजका भोगाइ, प्रेम, संघर्ष र संवेदनाका प्रतिबिम्ब हुन्। बिमोचन कार्यक्रममा उहाँका रचनाहरू वाचन गरिनुका साथै गजल वाचन कार्यक्रम पनि सम्पन्न भएको थियो।
साहित्यिक क्षेत्रमा सिर्जन श्रीको नयाँ गजल सङ्ग्रहले नेपाली गजलप्रेमी पाठकहरूका लागि नयाँ अनुभूति दिने विश्वास लिइएको छ।