जे.बी. एकेडेमीले धूमधामसंग मनायो १५औं वार्षिकोत्सव

कञ्चनपुर, माघ २१ – कृष्णपुर नगरपालिका–२, वाणीमा रहेको श्री जे.बी. एकेडेमीले आफ्नो १५औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। हिजो माघ २० गते, आइतबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय गणमान्य व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकास मन्त्री मेघराज खडका, विशिष्ट अतिथि कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा, कृष्णपुर-२ का वडा अध्यक्ष अर्जुनसिंह साउद, वडा सदस्यहरू राजेन्द्र बहादुर सिंह, डिक्रा वादी, सावित्री भारती लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

विविध प्रस्तुति तथा सम्मान कार्यक्रम

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रम, नृत्य, गायन, नाटक तथा खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएका थिए। प्रमुख अतिथि मन्त्री खडकाले विद्यालयको शैक्षिक यात्राको प्रशंसा गर्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा विद्यालयको योगदान अतुलनीय रहेको बताए। विद्यालयका प्रिन्सिपल जगदीश सेट्टीले १५ वर्षको यात्रा स्मरण गर्दै विद्यार्थीलाई अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयले नियमित शुल्क तिर्ने अभिभावकहरूलाई लक्षित गर्दै गोलाप्रथाबाट १ लाख नगद पुरस्कार प्रदान गरेको थियो, जसमा १८२ अभिभावक सहभागी थिए भने २१ जना अभिभावकले नगद पुरस्कार जित्न सफल भए।

विद्यार्थी तथा शिक्षकहरू सम्मानित

विद्यालयमा अध्ययनरत कक्षा ८ का आशिष गिरी र कक्षा ११ की आशिका ऐर उत्कृष्ट विद्यार्थीका रूपमा सम्मानित भए। साथै, बेस्ट टिचर पुरस्कार गजेन्द्र लुहार र तारा गिरीले प्राप्त गरे, भने अलराउन्ड टिचरको उपाधि पुष्पा भट्ट जोशीले प्राप्त गरिन्।

चर्चित कलाकारको विशेष प्रस्तुति

वार्षिकोत्सवमा चर्चित देउडा गायक लाल बहादुर धामीअछामी बडड्डो’ को बेजोड प्रस्तुति रहेको थियो, जसले कार्यक्रममा उल्लास थपेको थियो।

कार्यक्रमको सञ्चालन उद्घोषक नरेशनाथ योगी ले गरेका थिए। जे.वि एकेडेमी विद्यालय व्यवस्थापन, शिक्षक, विद्यार्थी र अभिभावकहरूको समन्वयमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको विद्यालयले जनाएको छ।

Facebook Comments Box