कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ४ स्थित पशुपति विद्या निकेतनका विद्यार्थीहरूले शक्ति पिठ ग्वासिसमैजी धाम परिसरको सरसफाइ गरेका छन्।
हिजो हजारौं श्रद्धालु भक्तजनहरूको उपस्थितिमा मालुवेला दिव्य पूजा मेला सम्पन्न भएको ग्वासिसमैजी धाम मन्दिर परिसरमा विद्यार्थीहरूले बुधबार सरसफाइ गरेका हुन्। मेलाका क्रममा भएको फोहोरमैला संकलन गरी मन्दिर परिसरलाई सफा र सुन्दर बनाउने उद्देश्यले उनीहरूले उक्त अभियान सञ्चालन गरेका थिए।

विद्यार्थीहरूसँगै विद्यालयका शिक्षक तथा कर्मचारीहरू पनि सरसफाइ कार्यमा सहभागी भएका थिए। सरसफाइ अभियानबारे जानकारी दिँदै पशुपति विद्या निकेतनका संस्थापक झंकार बहादुर खड्का ‘पुरन’ ले यस्ता कार्यहरूले विद्यार्थीहरूमा समाजप्रति उत्तरदायित्व बोध गराउने बताए।
यस किसिमका सामूहिक अभियानहरूले धार्मिक स्थलहरूको सौन्दर्य कायम राख्न तथा वातावरण संरक्षणमा योगदान पुर्याउने विश्वास लिइएको छ।