कृष्णपुरका नगरप्रमुख ओझाद्वारा सरस्वती मा.वि वाणीमा चार कोठे भवन शिलान्यास सम्पन्न

कञ्चनपुर: कृष्णपुर नगरपालिका–२ वाणी मा रहेको सरस्वती माध्यमिक विद्यालयको नयाँ भवनको बिहीबार शिलान्यास गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष अर्जुन सिंह साउदको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख हेमराज ओझाले भवनको शिलान्यास गरेका हुन्।

विद्यालयका प्रधानाध्यापक अम्भादत्त बडडु, शिक्षक–शिक्षिका, विद्यार्थी, स्थानीय समाजसेवी तथा पूर्व व्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा नगरप्रमुख ओझाले शैक्षिक सुधारसँगै भौतिक पूर्वाधार सुधारमा नगरपालिका प्रतिबद्ध रहेको बताए।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५५ लाख र कृष्णपुर नगरपालिकाबाट ३८ लाख गरी कुल ९३ लाख लागत अनुमान गरिएको भए पनि ठेक्का प्रक्रियामा प्रतिस्पर्धा हुँदा ६१ लाखमा सम्झौता भएको नगरप्रमुख ओझाले जानकारी दिए। श्रीशा एण्ड समायरा कन्स्ट्रक्सन प्रा. लि. संग ६१ लाख २ हजार ७ सय ४ रुपैयाँमा दुई तले, चार कोठे अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ।

नगरप्रमुख ओझाले सरस्वती विद्यालय सहित कृष्णपुरका अन्य चार विद्यालयमा नयाँ भवन निर्माण गरिने तथा जिर्ण भवनहरूको मर्मत समेत गरिने बताए। शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीलाई उत्कृष्ट भौतिक सुविधा उपलब्ध गराउने उद्देश्यले विद्यालय भवन निर्माणलाई प्राथमिकता दिइएको मेयर ओझाले बताएका छन्।

Facebook Comments Box