कञ्चनपुर: कृष्णपुर नगरपालिका-१, बण्डमा अवस्थित श्री केदार पब्लिक स्कुलले आफ्नो १७औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। माघ २३ गते, बुधबार, विद्यालय प्राङ्गणमा विविध सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, तथा सम्मान कार्यक्रम सहित वार्षिकोत्सव मनाइएको हो।
कार्यक्रमका सभाअध्यक्ष विद्यालय व्यवस्थापन समिति अध्यक्ष भान बहादुर महरा रहेका थिए भने प्रमुख अतिथि कृष्णपुर नगरपालिका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष मोहन बहादुर बस्नेत रहेका थिए। साथै, विद्यालयका संस्थापक गोपाल बोहरा, भक्त बोहरा, विद्यालय व्यवस्थापन समिति सदस्यहरू, स्थानीय समाजसेवी, शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयको उपलब्धि र प्रगति प्रतिवेदन प्रस्तुत
विद्यालयका संस्थापक गोपाल बोहराले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको स्थापना कालदेखि अहिलेसम्मको यात्राबारे जानकारी गराए।
– २०६५ साल माघ २३ गते केदार पब्लिक स्कुलको स्थापना २० जना विद्यार्थी र २ जना शिक्षक सहित खुल्ला आकाशमुनि बिना कुनै भौतिक संरचना गरिएको थियो।
– हाल विद्यालयमा ३६४ जना विद्यार्थी अध्ययनरत छन्।
– विद्यालयले कक्षा ९ सम्मको सम्बन्धन प्राप्त गरिसकेको छ।
– गत २०८० सालको नगरपालिका स्तरीय आधारभूत तह परीक्षामा केदार पब्लिक स्कुल प्रथम स्थान हासिल गर्न सफल भयो।
– विद्यालयका विद्यार्थीले विभिन्न सांस्कृतिक तथा शैक्षिक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

विद्यालयका प्रिन्सिपल मान बहादुर धामी ले विगत वर्षहरूमा विद्यालयले हासिल गरेका उपलब्धिहरूबारे चर्चा गरे। हालै मात्र विद्यालयले धनगढीमा सनराइज टेलिभिजनद्वारा आयोजित कुईच कन्टेस्टमा प्रथम स्थान हासिल गर्दै छानिन सफल भएको जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष मोहन बहादुर बस्नेतले विद्यालयको शैक्षिक गुणस्तरको प्रशंसा गर्दै भने,
“केदार पब्लिक स्कुल कृष्णपुर नगरपालिका भित्रका विद्यालयहरूमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यालय हो। यहाँका विद्यार्थीहरू निकै क्षमतावान छन्, जसले भविष्यमा राम्रो प्रगति गर्नेछन्।”
विद्यालय व्यवस्थापन समिति अध्यक्ष भान बहादुर महराले विद्यालयको भविष्यलाई अझ मजबुत बनाउन स्थानीय समुदाय र अभिभावकहरूको निरन्तर सहयोग आवश्यक रहेको बताए।