शुक्लाफाँटा–९ मा नागरिकमैत्री सेवा: मृत्युदर्ता प्रमाणपत्र अब घरमै उपलब्ध

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका वडा नं. ९ ले नागरिकमैत्री सेवाको सुरुवात गर्दै मृत्युदर्ता प्रमाणपत्र घरमै उपलब्ध गराउने सुविधा सुरु गरेको छ। अबदेखि वडावासीको मृत्यु भएमा सम्बन्धित परिवारलाई वडा कार्यालयमै जानु नपर्ने गरी जनप्रतिनिधिहरू प्रमाणपत्र लिएर मृतकको घरमै पुग्नेछन्।

सोमबार वडा नं. ९ का डम्बरबहादुर साउँदको निधन भएपछि मंगलबार वडा अध्यक्ष रमेशबहादुर ऐरसहितको टोली मृतकका छोरा जगतबहादुर साउँदको घर पुगेर मृत्युदर्ता प्रमाणपत्र हस्तान्तरण गर्‍यो।

वडा अध्यक्ष ऐरले शोकाकुल परिवारलाई प्रशासनिक झन्झटबाट राहत दिने उद्देश्यले यो सेवा सुरु गरिएको बताए। ‘शोकमा परेका परिवारलाई कार्यालय धाउनु नपरोस् भनेर घरमै सेवा पुर्‍याउने अभियान थालिएको हो,’ उनले भने।

मंगलबार वडा कार्यालयमा बसेको बैठकले नेपाली नागरिकको मृत्यु भएपछि मृत्युदर्ता प्रमाणपत्र घरमै प्रदान गर्ने औपचारिक निर्णयसमेत गरेको छ। ‘वडावासीलाई सहज बनाउन वडा कार्यालयबाट प्रदान गरिने अन्य सेवा पनि घरमै पुर्‍याउने योजनामा छौं,’ वडा अध्यक्ष ऐरले जानकारी दिए।

यो पहलसँगै शुक्लाफाँटा–९ नागरिकमैत्री सेवा प्रवाहको उदाहरणीय नमुना बन्ने विश्वास गरिएको छ।

Facebook Comments Box