कृष्णपुरमा नगरप्रमुख ओझाद्वारा दुई सामुदायिक विद्यालय भवनको एकै दिन शिलान्यास

कञ्चनपुर: कृष्णपुर नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय फड्को मार्दै विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणलाई तीव्रता दिएको छ। नगरपालिकाले ६ विद्यालयमा भवन निर्माण गरिरहेको छ। चार विद्यालयमा ४ कोठे भवन निर्माण भइरहेको छ भने दुई विद्यालयमा तला थपको काम भइरहेको छ।

बुधबार नगर प्रमुख हेमराज ओझाले नन्द माध्यमिक विद्यालय देखतभुली र समैजी माध्यमिक विद्यालय किचाईको भवनको शिलान्यास गरे। सरस्वती र कञ्चन माध्यमिक विद्यालयमा निर्माण कार्य अघि बढिरहेको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ५५ लाख र नगरपालिकाको ३८ लाख लगानीमा भवन निर्माण भइरहेको नगर प्रमुख ओझाले जानकारी दिए। विल्डवन संस्थासँग साझेदारीमा ३ विद्यालयमा भवन निर्माण भइरहेको छ भने राष्ट्रिय माध्यमिक र उदय माध्यमिक विद्यालयमा तला थप कार्य नगरपालिकाको आन्तरिक स्रोतबाट भइरहेको छ।

‘गुणस्तरीय शिक्षा सार्वजनिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको छ। हाम्रो शिक्षा गुणस्तरीय र सर्वसुलभ भएमा नगरवासीको आर्थिक पक्ष सुधारिन्छ,’ नगर प्रमुख ओझाले भने। उनले दरबन्दी व्यवस्थापन गर्दै स्थायी शिक्षकलाई प्रधानाध्यापक बनाएको र मावि तहमा १४ दरबन्दी थपेको बताए। एसईई तयारीका लागि अनुदान, कक्षा ५ र ८ मा नगरस्तरीय परीक्षा तथा अंग्रेजी माध्यममा पढाइ गर्ने विद्यालयलाई प्राथमिकता दिइएको छ।

वडा नं. ३ का अध्यक्ष खेमराज चौधरीले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम भइरहेको जनाए। नन्द माध्यमिक विद्यालयलाई ४ कोठे भवन उपलब्ध भएपछि भवन अभावको समस्या हटेको विद्यालय अध्यक्ष दिपकबहादुर खत्रीले बताए। उनले विद्यालयलाई नमुना बनाउने लक्ष्यका साथ बस सेवा सञ्चालन गरिएको जानकारी दिए।

Facebook Comments Box