असीग्राम माविलाई शुक्लाफाँटा–९ को खेलकुद सामग्री सहयोग; स्थानीय खेलाडीहरु हर्षित

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका वडा नं. ९ को कार्यालयले असीग्राम माध्यमिक विद्यालयलाई खेलकुद सामग्री वितरण गरेको छ। वडा अध्यक्ष रमेशबहादुर ऐरका अनुसार विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुद सामग्री प्रदान गरिएको हो।

‘विद्यार्थीलाई अध्ययनसँगै खेलकुदमा पनि सक्षम बनाउन सामग्री उपलब्ध गराएका हौं,’ अध्यक्ष ऐरले भने। विद्यालयलाई भलिबल २ थान, भलिबल नेट २ थान, फुटबल २ थान, फुटबल नेट २ थान, फुटबल पोशाक १६ थान, क्रिकेट ब्याट १६ थान, क्रिकेट पोशाक १६ थान, क्रिकेट ग्लोभ्स २ थान, किपिङ ग्लोभ्स ४ थान र टेनिस बल ६ थान वितरण गरिएको छ।

अध्यक्ष ऐरले खेल सामग्री विद्यालयका खेलकुद शिक्षक दमनबहादुर ओली, दिलबहादुर ऐर र मानबहादुर ऐरलाई हस्तान्तरण गरे। सामग्री प्राप्त गरेसँगै विद्यार्थीलाई खेलकुद गतिविधिमा सहभागी गराउन सहज हुने विद्यालयका शिक्षक ओलीले बताए।

वडा नं. ९ ले खेलकुदलाई प्राथमिकता दिंदै निरन्तर सामग्री सहयोग गर्दै आएको छ। ‘विगतमा पनि खेलाडीलाई आवश्यक सामग्री उपलब्ध गराउँदै आएका छौं र वडा स्तरीय प्रतियोगिताहरू आयोजना गरिरहेका छौं,’ अध्यक्ष ऐरले थपे।

Facebook Comments Box