कञ्चनपुर: रौलेश्वर एजुकेशनल एकेडेमी, सुन्दरी फाटा, कृष्णपुर १, कञ्चनपुरले आफ्नो १३औं वार्षिकोत्सव तथा नव निर्मित विद्यालय भवन उद्घाटनको अवसरमा भव्य कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर बस्नेतले रोलेश्वर एजुकेशनल एकेडेमीको सफलताका लागि आफ्नो सधैं समर्थन रहने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यालयले विद्यार्थीलाई उत्कृष्ट शिक्षामा सहजीकरण गर्दै अभिभावकहरूको रोजाइमा पर्न सफल भएको उल्लेख गरे।

विद्यालयका प्रधानाध्यापक भीम खड्काले विद्यालयको यात्रा र यहाँसम्म आइपुग्दा सामना गर्नुपरेका कठिनाइहरूबारे प्रस्ट पार्दै विद्यालयको विकास र शिक्षणको गुणस्तरमा सुधार ल्याउने आफ्नो अठोट व्यक्त गरे। पहिले कच्ची टहरामा सञ्चालन भइरहेको विद्यालय अहिले सुविधा सम्पन्न भवन निर्माणसँगै शिक्षाको गुणस्तरमा सुधार ल्याउन तयार रहेको उनले बताए।
कार्यक्रममा राष्ट्रिय कलाकार गायक टेक बीसीको विशेष प्रस्तुति रहेको थियो, जसले कार्यक्रममा सहभागी अभिभावक, विद्यार्थी र अतिथिहरूलाई मनोरञ्जन प्रदान गर्यो। साथै, उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो।
स्थानीय समाजसेवी र अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा विद्यालयले आगामी दिनमा शिक्षामा थप सुधार गर्दै अघि बढ्ने विश्वास दिलाइएको छ। कार्यक्रमको समापन सास्कृतिक प्रस्तुतिहरूसँगै गरिएको थियो। प्रमुख अतिथि बस्नेतले रौलेश्वर एजुकेशनल एकेडेमीले कृष्णपुर क्षेत्रको शिक्षामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै आगामी दिनमा समेत विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए। प्रमुख अतिथी वडा अध्यक्ष बस्नेतबाट विद्यालयको नवनिर्मित दुई तले पक्की भवन उद्घाटन गरिएको छ।