पत्रकार महासंघ कञ्चनपुरलाई माओवादी निकट उद्योग व्यापार महासंघको आर्थिक सहयोग

कञ्चनपुर: नेकपा माओवादी केन्द्र निकट नेपाल उद्योग व्यापार महासंघ सुदूरपश्चिम प्रदेश समितिले नेपाल पत्रकार महासंघ कञ्चनपुरलाई आर्थिक सहयोग प्रदान गरेको छ।

उद्योग व्यापार महासंघले गत माघमा महेन्द्रनगर खुला मञ्चमा आयोजना गरेको *सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव*को आम्दानीबाट सहयोग रकम उपलब्ध गराएको हो। बिहीबार पत्रकार महासंघ शाखा कञ्चनपुरको हलमा आयोजित कार्यक्रममा महासंघका संयोजक लाल परियारले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई नगद हस्तान्तरण गरे।

रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका अध्यक्ष धामीले उद्योग व्यापार महासंघद्वारा महोत्सव सञ्चालन गरी श्रमजीवी पत्रकारहरूको हकहितका लागि प्रदान गरिएको सहयोग सराहनीय रहेको बताए। उनले उक्त सहयोग पत्रकारहरूको हकहितमा खर्च गरिने जानकारी दिए।

पत्रकार महासंघका पूर्व अध्यक्ष लक्ष्मण तिवारीले उद्योग व्यापार महासंघले पत्रकारको हकहितका लागि गरेको यो सहयोगलाई सकारात्मक सुरुवातको रूपमा लिएको बताए। महासंघका निर्वतमान महासचिव रामसिंह ठगुन्नाले जिल्लामै पहिलो पटक गरिएको यो प्रयासले पत्रकारहरूको समाजिक सुरक्षामा महत्त्वपूर्ण योगदान पुगेको धारणा राखे।

नेपाल उद्योग व्यापार महासंघका संयोजक लाल परियारले पत्रकार महासंघको संस्थागत बृद्धि र विकासका लागि सहयोग प्रदान गरिएको जनाए। परियारका अनुसार महोत्सवको आम्दानीबाट समाज कल्याण बाल अञ्चल अनाथालयलाई पनि २१ हजार १२१ रुपैयाँ हस्तान्तरण गरिएको छ। बाल अनाथालयका कर्मचारी दिवाकर भट्टलाई रकम प्रदान गरिएको हो।

त्यस्तै, भीनपा–८ तिलाचौर भम्केनी धाममा नेपाल आमाको मूर्ति बनाउनका लागि ५१ हजार १ सय ५१ रुपैयाँ पनि आगामी दिनमा हस्तान्तरण गरिने भएको छ। महोत्सवका व्यवस्थापक सिके भट्टले पत्रकारहरूको सामाजिक सुरक्षाका लागि गरिएको यो सहयोग महत्त्वपूर्ण सुरुवात भएको बताए।

उनले भने, “जिल्लामै पहिलो पटक यस्तो सहयोग गरेका छौँ। पत्रकार समाजका लागि अहोरात्र खटिन्छन्, र उनीहरूको हकहित सुनिश्चित गर्नु सबैको दायित्व हो।”

यसअघि जिल्लामा हुने मेलामहोत्सवमा पत्रकारहरूको हितका लागि सहयोग नभए पनि यस पटकको मेलाबाट प्राप्त सहयोगले कञ्चनपुरका पत्रकारहरूमा सकारात्मक अनुभव दिएको छ।

Facebook Comments Box