कञ्चनपुरमा ट्रकको ठक्करबाट युवतीको मृत्यु

नरेश राना/कञ्चनपुर, फागुन १६ – कञ्चनपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका-५ को वन समितिमा बिहीबार बिहान उक्त दुर्घटना भएको हो ।

कञ्चनपुर प्रहरीले दिएको जानकारी अनुसार, बा ०१ ००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परी भीमदत्त नगरपालिका-१८ बस्ने २१ वर्षीया निर्मला बोहरा गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि ट्रकलाई नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी कार्य भइरहेको छ ।

यस दुर्घटनाले पुनः सडक सुरक्षाप्रति चिन्ता बढाएको छ । स्थानीयवासीले ट्राफिक नियम कडाइका साथ लागू गर्न र सवारीचालकलाई सुरक्षित यात्राका लागि सचेत गराउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

प्रहरी अनुसन्धान जारी

प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धान अनुसार, तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ।यस घटनाले स्थानीय बासिन्दा तथा मोटरसाइकल यात्रुमा थप सतर्कता अपनाउनुपर्ने आवश्यकतालाई उजागर गरेको छ ।

Facebook Comments Box