कृष्णपुरमा कालोपत्रे ढिलाइप्रति वडा अध्यक्षको एक्सन, आइतबारदेखि सडकमै अस्थायी वडा कार्यालय

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ बंक क्याम्पस चोकदेखि वडा नं. १ दोमिल्लासम्मको सडक कालोपत्रे गर्ने योजना पटक–पटक म्याद थपिँदै अलपत्र परेको भन्दै स्थानीय वासिन्दा र वडा अध्यक्ष संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन्।

प्रदेश गौरवको योजना अन्तर्गत पर्ने उक्त सडक कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालय कञ्चनपुरमार्फत ठेक्का सम्झौता भइसकेको थियो। तर निर्माण व्यवसायीले तोकिएको समयमा काम नगरेपछि स्थानीयबासी आक्रोशित भएका, पटक–पटक लिखित तथा मौखिक आग्रह गर्दा पनि कुनै ठोस पहल नभएपछि आन्दोलनको घोषणा गरिएको वडा अध्यक्ष साउदले बताएका छन्।

स्थानीय वासिन्दा, सरोकारवाला तथा वडा कार्यालयको समन्वयमा आइतबार (फागुन १८) बाट बंक-नाइल सडकखण्डको प्रारम्भिक बिन्दुमा अस्थायी कार्यालय स्थापना गरिने; सो स्थानबाट नै सेवा प्रवाह गर्दै सम्बन्धित निकायलाई दबाब दिने कृष्णपुर-२ वडा कार्यालयले जनाएको छ।

स्थानीय निकायका जनप्रतिनिधिहरूले विकासका नाममा अलमल भइरहेकाले बाध्य भएर आन्दोलनको मार्ग रोज्नुपरेको बताए। उनीहरूले सम्बन्धित निकाय तथा निर्माण व्यवसायीले तत्काल काम सुरु नगरे अझ कडा कदम चाल्ने चेतावनी दिएका छन्।

सडक निर्माणमा भएको ढिलाइप्रति स्थानीयहरू चर्को असन्तुष्टि जनाइरहेका छन्। उनीहरूका अनुसार वर्षौंदेखि धुलो–माटो सहँदै आएका सर्वसाधारणले अब चुप लागेर बस्न नसक्ने बताएका छन्।

सम्बन्धित निकायले समयमै ध्यान नदिए थप सशक्त आन्दोलन गर्न बाध्य हुने स्थानीयको चेतावनी छ। अबको केही दिनमा सरकारले आवश्यक कदम नचाले सडक अवरुद्ध गर्ने लगायतका अन्य कडा विरोधका कार्यक्रम सार्वजनिक गरिने बताइएको छ।

Facebook Comments Box