कृष्णपुरको श्री जनउथ्यान आधारभूत विद्यालयले मनायो २१ औ वार्षिकोत्सब तथा अभिभावक दिवस

कञ्चनपुर: कृष्णपुर नगरपालिका–२, बंकस्थित श्री जनउथ्यान आधारभूत विद्यालयले आफ्नो २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र सामुदायिक सहभागिता बढाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा रहेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश कार्की सभाध्यक्षका रहेका थिए। साथै, वडा सदस्य राजेन्द्र बहादुर सिंह, डिक्रा देवी बादी, विद्यालयका संस्थापक प्रधानाध्यापक, पूर्व शिक्षक, विभिन्न विद्यालयका शिक्षक-शिक्षिका, समाजसेवी, स्थानीय अगुवा, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक गणेश बहादुर कुवँरले विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्दै दक्ष विद्यार्थी उत्पादनमा केन्द्रित रहँदै आएको बताए। उनले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हाल विद्यालयमा कक्षा ८ सम्म पठनपाठन हुँदै आएको, विद्यालयमा १४ जना शिक्षक-शिक्षिकाले अध्यापन गराउँदै आएको तथा ३९३ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए। आगामी दिनमा विद्यालयलाई कक्षा १० सम्म विस्तार गर्न विद्यालय व्यवस्थापन समिति सक्रिय रूपमा लागेको अध्यक्ष नरेश कार्कीले बताएका छन्।

नगर प्रमुख हेमराज ओझाले विद्यालयको शैक्षिक सुधारमा नगरपालिका प्रतिबद्ध रहेको बताउँदै भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर अभिवृद्धिमा निरन्तर काम भइरहेको जानकारी दिएका छन्। उनले सामुदायिक विद्यालयप्रति घट्दो विश्वासलाई पुनः बलियो बनाउन यस्ता विद्यालयले गुणस्तरीय पठनपाठनमार्फत उदाहरणीय भूमिका खेल्नुपर्ने बताए।

वार्षिकोत्सव समारोह विविध सांस्कृतिक कार्यक्रमहरूका साथ उल्लासमय बनेको थियो। कार्यक्रममा नाटक, म्युजिकल पी.टी, विद्यार्थीहरूद्वारा प्रस्तुत सांस्कृतिक नृत्य तथा गीत-संगीतका प्रस्तुति रहेका थिए। साथै, उत्कृष्ट विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको थियो। विद्यालयका संस्थापक तथा पूर्व शिक्षकहरूलाई समेत सम्मान गर्दै विद्यालयको योगदानप्रति कृतज्ञता व्यक्त गरिएको थियो।

वार्षिकोत्सब कार्यक्रमको उद्घाटन प्रमुख अतिथि हेमराज ओझाले झण्डोत्तोलन गरेर गरेका थिए। विद्यालयका सह-प्रधानाध्यापक रमेश सिंह ऐरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने प्रधानाध्यापक गणेश बहादुर कुवँरले विद्यालय परिवारका तर्फबाट उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो।

२१ औं वार्षिकोत्सवका अवसरमा विद्यालयले शैक्षिक सुधारका प्रतिबद्धता पुनः दोहोर्‍याउँदै सामुदायिक विद्यालयप्रति विद्यार्थी, अभिभावक तथा समाजको विश्वास बढाउन सक्ने स्पष्ट संकेत दिएको छ। आगामी वर्षदेखि कक्षा १० सम्म पठनपाठन विस्तार गर्ने लक्ष्यसहित विद्यालय व्यवस्थापन समिति, शिक्षक-शिक्षिका तथा नगरपालिकाले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

Facebook Comments Box