कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मा ठेकेदारले सडक निर्माण अलपत्र पारेपछि वडाअध्यक्ष अर्जुन सिंह साउद आफैं आन्दोलनमा उत्रिएका छन्।
चार वर्षअघि सन्तोषी थेगिम जेभीले बंकदेखि दोमिल्ला हुँदै नायलसम्म ७ किलोमिटर कालोपत्रे सडक निर्माणको ठेक्का पाए पनि हालसम्म कार्य सम्पन्न नभएपछि वडाअध्यक्ष साउदले सडकको माग गर्दै दबावमूलक आन्दोलन थालेका हुन्।
एक साताअघि पूर्वाधार विकास कार्यालयलाई अल्टिमेटम दिएका साउदले आइतबारदेखि सडककै सुरूवाती बिन्दु बंकमा टेबुल राखेर कार्यालय सञ्चालन गरिरहेका छन्। उनले भने, “मैले व्यक्तिगत र वडा कार्यालयको तर्फबाट पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएँ, तर चासो नै दिएनन्। त्यसैले अब सडक निर्माण सुनिश्चित नभएसम्म म सडकमै बसेर कार्यालय सञ्चालन गर्छु।”
उनको आन्दोलनमा स्थानीयले पनि साथ दिएका छन्। स्थानीय रविन्द्र लुहारले ठेकेदारले ठेक्का पाएर पनि काम नगर्ने प्रवृत्तिले वडाध्यक्ष बाध्य भएर सडकमै कार्यालय राख्नुपरेको बताए। उनले भने, “विकास निर्माणका लागि वडाध्यक्षले अघि सारेको आन्दोलन सिर्जनात्मक छ। अब आन्दोलन अरूलाई बाधा पार्ने होइन, दबाब सिर्जना गर्ने हुनुपर्छ।”

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीका अनुसार निर्माण कम्पनीलाई पटक–पटक पत्राचार गरिसकिएको छ। ठेकेदारले थप एक साता समय मागेको उल्लेख गर्दै उनले भने, “०८२ चैत्रसम्म ठेक्काको म्याद भएकाले अहिले नै ठेक्का तोड्न कठिन छ। तर, समयमा काम नगरे कडा कदम चाल्न बाध्य हुनेछौँ।”
२०७७ साल साउन २० मा ठेक्का सम्झौता भएको उक्त सडकको पहिलो म्याद २०८१ वैशाख २० मा सकिएको थियो। तर, निर्माण कम्पनीले काम नसकेपछि २०८२ चैत्र ३० सम्मका लागि म्याद थप गरिएको छ। झन्डै ११ करोड ८६ लाख लागतमा बन्ने भनिएको उक्त सडकको हालसम्म ३५ प्रतिशत मात्र प्रगति भएको छ, जसले गर्दा स्थानीयहरू मर्कामा परेका छन्।