कञ्चनपुर: किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कृष्णपुर-२ वाणी शाखाले मंगलबार आफ्ना सेयर सदस्य राधा देवी नाथका श्रीमान् ईन्नरे नाथको असमायिक निधनपछि श्रद्धाञ्जली सभा तथा सुविधा वितरण कार्यक्रम सम्पन्न गरेको छ।
सभाका क्रममा किसान बहुउद्देश्यीय सहकारी संस्थाले नाथ परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाका वाणी शाखा प्रमुख अमित कुमार चौधरीका अनुसार, स्वर्गीय ईन्नरे नाथले सहकारीबाट ३ लाख ३० हजार कर्जा लिएका थिए, जस मध्ये १ लाख १२ हजार रुपैयाँ तिर्न बाँकी रहेको थियो। सहकारीको नियमअनुसार, नाथको निधनपछि बाँकी कर्जा मिनाहा गर्दै परिवारलाई काजक्रिया खर्चसहित ३ लाख ३८ हजार रुपैयाँको आर्थिक सहायता प्रदान गरिएको छ।

कार्यक्रममा सभाअध्यक्षको रूपमा किसान सहकारीका शुक्लाफाँटा इलाका प्रमुख गोरख शाहले सभालाई सम्बोधन गर्दै, सहकारी संस्थाले आफ्ना सदस्यहरूको हकहितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने,”किसान सहकारीले आफ्ना सेयर सदस्यहरूको सुरक्षा प्रत्याभूत गर्ने कार्यलाई निरन्तरता दिनेछ।”
कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर-२ का वडा सदस्य राजेन्द्र बहादुर सिंहले किसान सहकारीको प्रयासलाई सकारात्मक रूपमा लिँदै भने,”सहकारीले गर्दा नागरिकलाई आर्थिक सहजता मिलेको छ। संस्थाको यस्तो सहयोगले पीडित परिवारलाई ठूलो राहत मिलेको छ, जसले संस्थाप्रति अझै विश्वास बढाउनेछ।”
यसैगरी, किसान वाणी शाखाका प्रमुख अमित कुमार चौधरी, केन्द्र नं. २८२६ की प्रमुख मानमती गिरी तथा सहकारीका सेयर सदस्यहरूको उपस्थिति रहेको कार्यक्रममा मृतक नाथको परिवारलाई आर्थिक सहयोगको चेक हस्तान्तरण गरिएको थियो।
स्थानीय तथा सहकारीका सदस्यहरूले सहकारी संस्थाले देखाएको सहानुभूति र आर्थिक सहायता प्रदान गर्ने प्रणालीको प्रशंसा गरेका छन्। यस प्रकारको सुविधा र सहायता निरन्तर जारी राख्ने प्रतिबद्धता किसान बहुउद्देश्यीय सहकारी संस्थाले व्यक्त गरेको छ।