बंक-नायल-बुडर सडक खण्ड कालोपत्रे सम्बन्धी संघर्ष सफल; चैत २१ देखि कालोपत्रे गरिने

कञ्चनपुर — बंक-नायल-बुडर सडक खण्ड अन्तर्गत बंक क्याम्पस चोकदेखि दोमिल्लासम्मको सडक यथाशीघ्र कालोपत्रे गर्नुपर्ने मागसहित स्थानीय युवाहरु, विद्यार्थी, मजदुर, किसान, पत्रकार, बुद्धिजीवी, समाजसेवी तथा नागरिक समाजको सक्रिय सहभागितामा पाँच दिने सडक संघर्ष सम्पन्न भएको छ।

गत फागुन १८ गतेदेखि २२ गतेसम्म गरिएको आन्दोलनपछि सम्बन्धित निर्माण व्यवसायीले फागुन १८ गतेदेखि नै सडकमा बेस हाल्ने कार्य सुरु गरेको जनाएको छ। आज सम्पन्न संयुक्त छलफलमा निर्माण कम्पनीले चैत २० गतेसम्म सम्पूर्ण बेस मेटेरियल तयार गर्ने तथा चैत २१ गतेदेखि सडक कालोपत्रे कार्य सुरु गर्ने प्रतिबद्धता जनाएको छ।

वडा अध्यक्ष अर्जुन सिंह साउँदका अनुसार, कालोपत्रे कार्य बंक क्याम्पस चोकदेखि दोमिल्लासम्म नपुग्दासम्म स्थानीयवासीको निरन्तर खबरदारी र सुपरिवेक्षण रहनेछ। साथै, आन्दोलनका कारण रोकिएको वडा कार्यालयको सेवा भोलीदेखि पुनः आफ्नै कार्यालयबाट सञ्चालन गरिने जानकारी गराइएको छ।

सडक संघर्षमा ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, मिडिया, जनप्रतिनिधि तथा सरोकारवालाहरूप्रति वडा कार्यालयले धन्यवाद व्यक्त गरेको छ।

Facebook Comments Box