सुनिल ऐर/कञ्चनपुर: लालझाडी गाउँपालिकामा नेपाली सेनाले विशेषज्ञ चिकित्सकसहितको एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। सेनाको सुदूरपश्चिम पृतना अन्तर्गत कञ्चनपुरको २५ नम्बर वाहिनीले हिजो शनिबार लालझाडी गाउँपालिका–०२, कञ्ज गाउँस्थित भानु मा.वि को प्राङ्गणमा स्वास्थ्य शिविर आयोजना गरेको हो।
लालझाडी गाउँपालिकाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष आशाराम रानाका अनुसार शिविरबाट ८३४ नागरिकले सेवा लिएका छन्, जसमा ५१६ महिला र ३१८ पुरुष रहेका छन्।
शिविरमा नेपाली सेनाका ११ जना चिकित्सक तथा महाकाली अस्पतालका ६ जना विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरेका थिए।
विशेषज्ञ स्वास्थ्य शिविरमा फिजियोथेरापी, छाला तथा यौनरोग, अर्थोपेडिक, अल्ट्रासाउन्ड, भिडियो एक्स–रे, दन्त, स्त्रीरोग, बालरोग, नाक, कान, घाँटी लगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराईएक साथै, सेनाले अपांगता भएकाहरूलाई बैसाखी र ह्वीलचेयर समेत वितरण गरेको लालझाडी स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले बताएका छन्।

लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले ग्रामिण क्षेत्रमा यस्तो महत्वपूर्ण स्वास्थ्य शिविर सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे। उनले जनताको स्वास्थ्य सुरक्षाका लागि पालिका सधैं तयार रहेको बताउँदै, आगामी दिनमा पनि विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रतिवद्धता जनाए।गाउँमै विशेषज्ञ सेवा पाउँदा नागरिकको स्वास्थ्यमा सुधार आउने पालिका अध्यक्ष रानाले बताएका छन्।
लालझाडीमा सञ्चालित विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुदा स्थानीयहरुले स्वास्थ्य सुविधा पाएको आफुहरुलाई सहज भएको पालिका, नेपाली सेनालाई विशेष धन्यवाद दिन चाहेको लालझाडी गाउँपालिका स्थानीय नागरिकहरुले बताएका छन्।