सुनिल ऐर/कञ्चनपुर: लालझाडी गाउँपालिका–५ स्थित देखतभुली खानेपानी उपभोक्ता तथा सरसफाई समितिले हिजो शनिबार विभिन्न कार्यक्रमसहित दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
२०७१ सालदेखि सञ्चालनमा रहेको यो खानेपानी योजनाले हाल कृष्णपुर नगरपालिका–३, शुक्लाफाँटा नगरपालिका–१२, लालझाडी गाउँपालिका–४ र वडा नं. ५ गरी जम्मा २,५०० परिवारलाई शुद्ध खानेपानी सेवा उपलब्ध गराइरहेको छ। योजनाअन्तर्गत निर्माण गरिएको ४५,००० लिटर क्षमताको ओभरहेड पानी ट्याङ्कीबाट निरन्तर सेवा प्रवाह भइरहेको समितिले जनाएको छ।

साधारणसभाको अवसरमा योजनाको पहिलो धारा जडान गर्ने पाँचजना व्यक्तिहरूलाई विशेष सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा खेमराज पनेरु, दानबहादुर भण्डारी, बीरसिंह धामी, माधवी कार्की, र लिला धामी रहेका छन्।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष भजना रानाले आगामी वर्षका लागि पाइपलाइन विस्तार, नयाँ धारा जडान, पानी ट्याङ्कीको रंगरोगन, पानी छान्ने फिडर जडान, र गेट मर्मतसम्भारलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
समितिका अनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल आयव्यय १७,५६,५८२ रुपैयाँ रहेको छ। हालसम्म २७५ धारा जडान भइसकेको समितिले जनाएको छ।
खानेपानी उपभोक्ताहरूको आवश्यक गणपूरक संख्या नपुगेका कारण साधारणसभा औपचारिक रूपमा सम्पन्न हुन सकेन। चैत ३ गते पुनः भेला बोलाइने संस्थाले जानकारी गराएको छ।
साधारणसभा कार्यक्रममा प्रमुख अतिथि लालझाडी गाउँपालिका–५ का अध्यक्ष पहलबहादुर थापा तथा विशिष्ट अतिथि कृष्णपुर नगरपालिका–३ का अध्यक्ष खेमराज चौधरी रहेका थिए। कार्यक्रम सञ्चालन कल्याणसिंह धामीले गरेका थिए।