अरनिको स्मृतिमा नेपाल कमर्सियल आर्टिष्ट संघ द्वारा जनचेतनामुलक भित्तेलेखन

कञ्चनपुर: नेपाल कमर्सियल आर्टिष्ट संघ कञ्चनपुर जिल्ला कार्य समितिले अरनिको स्मृति दिवसको उपलक्ष्यमा सामाजिक कार्यको परम्परालाई निरन्तरता दिएको छ। हरेक वर्ष मार्च ११ मा विविध सामाजिक गतिविधिहरू गर्दै आएको संघले यस वर्ष पनि लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी जनचेतनामूलक भित्तेलेखन कार्यक्रम सम्पन्न गरेको छ।

यस वर्षको अभियान अन्तर्गत पूर्वी चौकी गाउँपालिका–४, साना गाउँ डोटीको साँझघाट, साना गाउँ र अछाम तथा डोटीको सीमामा पर्ने चौखुट्टे बजारमा भित्तेलेखन गरिएको हो। यस कार्यमा नेपाल कमर्सियल आर्टिष्ट संघ कञ्चनपुर जिल्ला कार्यसमितिका अध्यक्ष दिनेश बिकको नेतृत्वमा संघका विभिन्न पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा कृष्णपुर पालिका प्रमुख अमरसिंह चौधरी, कञ्चनपुर जिल्लाको बेलौरी पालिका प्रमुख तुलसीराम चौधरी, संघका जिल्ला सदस्य प्रकाशराम तिरुवा, जगन्नाथ राना, सहसचिव कृपाल चौधरी, तथा बेलौरी पालिका सदस्य गजेन्द्र रानालगायतको उपस्थिति रहेको थियो।

भित्तेलेखन कार्यक्रम अन्तर्गत कञ्चनपुरको बेलौरी नगरपालिका स्थित अस्थायी ट्राफिक प्रहरी पोस्ट र शोभा तालका विभिन्न स्थानहरूमा लागू औषध दुर्व्यसन नियन्त्रणसम्बन्धी सन्देशयुक्त चित्र तथा नाराहरू तयार पारिएका थिए।

अध्यक्ष दिनेश बिकले सामाजिक सचेतना अभिवृद्धिमा कलाको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै लागू औषध दुर्व्यसन नियन्त्रणका लागि यस्ता अभियानहरूले प्रभावकारी सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे। उनले कलाको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयासलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरे।

कृष्णपुर पालिका प्रमुख अमरसिंह चौधरीले युवापुस्तामा लागू औषध दुर्व्यसन रोक्न यस्ता सचेतनामूलक कार्यक्रमहरू प्रभावकारी हुने बताए। बेलौरी पालिका प्रमुख तुलसीराम चौधरीले पनि कला र सन्देशलाई जोड्दै समाजमा सचेतना फैलाउने कार्यको प्रशंसा गरे।

यस प्रकारको अभियानले लागू औषध दुर्व्यसन नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। नेपाल कमर्सियल आर्टिष्ट संघ कञ्चनपुर जिल्ला कार्य समितिले आगामी दिनमा पनि यस्तै रचनात्मक र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ।

Facebook Comments Box