गुलरिया: कञ्चनपुरको कञ्चन बहुमुखी क्याम्पस, कृष्णपुर नगरपालिका-५, गुलरियामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्यानलसहित जित हासिल गरेको छ।


निर्वाचन संयोजक अनिल भट्टका अनुसार मध्यरातमा मतगणना सम्पन्न भएपछि नेविसंघकै उम्मेदवारहरू विजयी भएका घोषणा गरियो। सभापतिमा नेविसंघका सुनिल ऐरले १४४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका राजेन्द्र खडकाले ९० मत मात्र ल्याए। अन्य प्रतिस्पर्धीहरूमा अखिल क्रान्तिकारीकी भावना भट्टले ६६, समाजवादी अनेरास्ववियुका खगेन्द्र भट्टले १३, र स्वतन्त्र शिवशंकर विष्टले १४ मत प्राप्त गरेका छन्। त्यस्तै सचिवमा धन बहादुर कुँवर (१६९ मत), कोषाध्यक्ष भावना कुमारी कार्की (१४७ मत), क्रमशः सदस्यहरू खेमराज भट्ट (१३८ मत), निर्मला धामी (१२० मत), यशोदा खडका (१२७ मत), पार्वती भट्ट (१२२ मत), गीता कुमारी बोहरा (११९ मत) का साथ निर्वाचित भएका छन्।

क्याम्पसमा जम्मा ३९४ मतदातामध्ये ३३४ मत खसेका थिए। जसमध्ये ७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। त्यस्तै समानुपातिक तर्फ नेविसंघ १५५, अनेरास्ववियू ८०, अखिल ८४ र अनेरास्ववियूक समाजवादिले ११ मत प्राप्त गरेका छन।

सत्तामा रहेका विद्यार्थी संगठनहरूबीचको झडपले अन्य विद्यार्थी संगठनहरू हैरान भएका छन्। सत्ता पक्षमै रहेका विद्यार्थीहरूले झडप मच्चाउनुले उनीहरूको घमण्ड देखाएको भन्दै विभिन्न पक्षहरूले प्रश्न उठाएका छन्। कञ्चनपुरका अन्य केही क्याम्पसहरूमा विवादकै कारण निर्वाचन सम्पन्न हुन नसकेको बताइएको छ।