कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. १ पहरियामा आईतवार बालमैत्री स्थानीय शासन समितिको आयोजनामा सरोकारवालाहरु बीच छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। आईतवार वडा कार्यालय सभाहलमा महिला स्वास्थ्य स्वयंसेविका, आमा समुह सदस्य, जिल्ला समन्वय समिती उप-प्रमुख, स्थानीय सरकार, सुरक्षाकर्मी, पत्रकार र सरोकारवालाहरु बीच बाल मैत्री स्थानिय शासन समितिको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।


बालमैत्री शासन समितिको कार्यक्रममा कृष्णपुर-१ का वडा अध्यक्ष/बालमैत्री शासन समिती अध्यक्ष मोहन बहादुर बस्नेत सभापति, कञ्चनपुर जिल्ला समन्वय समिती उप प्रमुख राम कुमारी राना प्रमुख अतिथी, कृष्णपुर नगरपालिका उप-प्रमुख द्रोपती राना विशिष्ट अतिथी, कृष्णपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट विशिष्ट अतिथि रहेका थिए। त्यस्तै कार्यक्रममा सूचना अधिकारी प्रेम बोगटी, कृष्णपुर स्वास्थ्य शाखा, महिला बालबालिका शाखा प्रतिनिधि, स्थानीय बालमैत्री शासन समितीका पदाधिकारी, शिक्षक शिक्षिका, आमा समूह, कार्यापालिका सदस्य, वडा सदस्य, वडा सचिव, स्थानीय समाजसेवी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

कृष्णपुर-१ लाई बाल मैत्री वडा बनाउने तयारी भईरहेको छ। कृष्णपुर-१ लाई २०८३ चैत सम्म बालमैत्री वडा घोषणा गर्ने तयारी रहेको वडा अध्यक्ष मोहन बहादुर बस्नेतले बताएका छ्न्। त्यसका लागि बाल मैत्री स्थानीय शासन समिति गठन गरिएको छ। वडा अध्यक्ष मोहन बहादुर बस्नेतको अध्यक्षतामा २७ सदस्यीय समिति गठन गरिएको छ। स्थानीय जनप्रतिनिधि, शिक्षक, बाल क्लव, युवा क्लब, स्थानीय बुद्धिजिवि, सुरक्षाकर्मी लगायत समुहमा सदस्य रहेका छन्। NNSWA कञ्चनपुर, वल्डभिजन संस्थाको आर्थिक प्राविधिक सहयोगमा कृष्णपुर-१ मा कार्यक्रम सञ्चालन भईरहेको छ। कार्यक्रममा बालमैत्री वडा घोषणाका लागि आवश्यक पर्ने ५१ सुचक र कृष्णपुर १ को हालको अवस्था बारे NNSWA का बाल संरक्षक अधिकृत गणेश भुलले प्रस्तुतीकरण प्रस्तुत गरेका थिए। NNSWA ले कृष्णपुर-१ लाई बालमैत्री वडा घोषणाका लागि अध्ययन गरिरहेको साथै जिल्लाकै पहिलो बाल मैत्री वडा बनाउने लक्ष्य लिएको अधिकृत भुलले बताएका छन्। सुत्केरी आमाको नियमित चेकजाच, आवश्यक खोप, जन्मदर्ता, बालश्रमको अन्त्य, बाल विवाहको अन्त्य, बाल हिंसाको अन्त्य, बालबालिकाले पढन पाउने अधिकार, छाउपडी प्रथाको अन्त्य, सफा खानेपानी, बालमैत्री शौचालय लगायतका सुचकहरु बालमैत्री वडा घोषणाका सुचक रहेको बाल संरक्षक अधिकृत गणेश भुलले जानकारी गराए।
बालमैत्री स्थानीय शासन समितिका सदस्य बालकृष्ण खनालले बालमैत्री स्थानीय शासन सदस्य तालिम प्रभावकारी रहेको बताएका छन्। उनले भने, “तालिमले लागू औषध दुर्व्यसन न्यूनीकरण, बाल विवाह नियन्त्रणका लागि महत्वपूर्ण योगदान पुर्याएको छ।” खनालका अनुसार, बालबालिकालाई लागू पदार्थ नबेच्न र नदिन स्थानीय समुदायमा चेतना फैलाउने कार्य भइरहेको छ। साथै, बाल विवाह अन्त्यका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक र सामाजिक संघसंस्थाबीच सहकार्यको आवश्यकता रहेको उनले बताए।
कृष्णपुर नगरपालिकाले १ नम्बर वडालाई बाल मैत्री वडा बनाउनका लागि प्रयासरत रहेको, जसले गर्दा बालबालिकाले सहज महसुस गर्ने कृष्णपुरका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले बताएका छन्।
नगर कार्यापालिका को बैठक अनुसार छ्नौट, विकट ठाउमा रहेकाले, बाल मैत्री शासन, चुनौती समस्या हुदा हुँदै, प्रभाव २०८३ सम्म बाल मैत्री वडा घोषणा, लक्ष्य लिएका छौ, हरेक वडा मा बाल सन्जाल गठन, पीडित बाल बालिका लाई संरक्षण, पठनपाठन का लागि सहयोग गरेको नगर उप प्रमुख द्रोपती रानाले बताएकी छिन्।
कृष्णपुर-१ का वडा अध्यक्ष मोहन बहादुर बस्नेतले बालमैत्री शासनको लक्ष्यसँगै कृष्णपुर-१ लाई जिल्लाकै पहिलो वडा बनाउने गरी २०८३ सम्म बालमैत्री वडा घोषणा गर्ने योजना रहेको बताएका छन्। उनले भने, “यस लक्ष्यलाई हासिल गर्नका लागि ठूलो कार्यक्रम सञ्चालन गर्दैछौं। यो अभियान एकदमै प्रभावकारी हुने विश्वास छ।
कार्यक्रमका सभाअध्यक्ष बस्नेतले बाल विवाहमा सहभागी नहुने दान दक्षिणा, भोजभतेरजस्ता कुरीतिहरूलाई निरुत्साहित गर्न स्थानीय स्तरमा जनचेतना कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिए। साथै, हरेक टोलमा बौद्धिक र सचेत व्यक्तिहरूलाई जिम्मेवारी दिइएको र १२ वटै टोलमा जानकारी प्रवाह गरिरहेको बताए। शिक्षक, समाजसेवी, धामीझाँक्री र स्थानीय बुद्धिजीवीहरूसँग सहकार्य गर्दै छाउपडी प्रथा रोकथाममा समेत सक्रिय रूपमा लागिरहेको जानकारी दिँदै बाल अधिकार संरक्षण र बालमैत्री वातावरण निर्माणमा सबैको सहभागिता अपरिहार्य रहेको वडा अध्यक्ष बस्नेतले बताएका छन्।
कृष्णपुर नगरपालिकाले बालमैत्री वडा घोषणा गर्ने तयारी गरेकोमा आफूलाई निकै खुसी लागेको, यो कार्य निकै सकारात्मक रहेको र बालमैत्री शासन समितिलाई धन्यवाद दिन चाहेको र जिल्ला समन्वय समितिबाट हुनसक्ने सहयोग आवश्यक सहयोग गर्ने प्रमुख अतिथी जिल्ला समन्वय समिती उप-प्रमुख राम कुमारी रानले बताएकी छिन्। कार्यक्रमको सञ्चालन भने बालमैत्री स्थानीय शासन समिती सदस्य शंकर सिह साउदले गरेका थिए।
