क्षयरोग दिवसको अवसरमा लालझाडी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर: लालझाडी गाउँपालिकामा आज चैत्र ११ गते (मार्च २४, २०२५) का दिन विश्व क्षयरोग दिवस २०२५ को अवसरमा “हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चिता, आजको आवश्यकता” भन्ने मूल नाराका साथ क्षयरोग र क्षयरोगमुक्त अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी, स्वास्थ्यकर्मीहरू, सरोकारवालाहरू, सामाजिक अभियन्ताहरू, स्थानीय नागरिकहरू र अन्य विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रमुख उद्देश्य क्षयरोग अन्त्यका लागि स्थानीय तहमा गरिनुपर्ने प्रयासहरूबारे छलफल गर्नु र यसका लागि आवश्यक लगानी तथा सेवा प्रवाहमा प्रतिबद्धता रहेको प्रमुख प्रशासकीय अधिकृत सार्कीले बताएका छन्।

कार्यक्रममा वक्ताहरूले क्षयरोग नियन्त्रणका लागि भएका प्रयासहरू, चुनौतीहरू र आगामी योजनाहरूको चर्चा गरे। साथै, क्षयरोगमुक्त पालिका परिकल्पना साकार पार्न सबैको सहयोग र प्रतिबद्धताको आवश्यकता औल्याईएको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताएका छन्। स्वास्थ्यकर्मीहरूले क्षयरोग पहिचान, उपचार र रोकथामका उपायहरूबारे जानकारी दिएका थिए। उनीहरूले स्थानीय समुदायलाई सचेत रहन र नियमित स्वास्थ्य जाँच गराउन आफुहरु झन सकृयताका साथ लागिपर्ने बताए।

गाउँपालिका प्रमुख सार्कीले क्षयरोग अन्त्यका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण भएको बताउँदै यसको अन्त्यका लागि थप प्रयास गर्नुपर्नेमा जोड दिए। साथै, उनले स्थानीय जनप्रतिनिधिहरू र सरोकारवालाहरूलाई एकजुट भएर अभियानमा सहभागी हुन आह्वान गरे।

स्वास्थ्य शाखाका प्रमुख चौधरीले क्षयरोगका कारण र प्रभावबारे प्रस्ट पार्दै यसको नियन्त्रणमा भएका प्रगतिबारे जानकारी गराए। उनले क्षयरोगको उपचार निःशुल्क रहेको र समयमा उपचार गरेमा यसबाट पूर्णरूपमा निको हुन सकिने बताए। कार्यक्रममा सहभागीहरूले क्षयरोगमुक्त पालिका निर्माणका लागि समुदायमा जनचेतना अभिवृद्धि, निःशुल्क औषधि वितरण, नियमित स्वास्थ्य शिविर आयोजना र रोग पहिचानका लागि सक्रियतापूर्वक काम गर्न प्रतिबद्धता जनाउदै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

Facebook Comments Box