नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त; हितेन्द्र देव शाक्य नियुक्त

काठमाडौं: सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

२०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त गरेको थियो। चार वर्षे कार्यकालको अवधि आगामी साउन २४ गते सकिन लागेको भए पनि समयावधि नसकिँदै सरकारले उनलाई पदमुक्त गरेको हो।

डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ पछिल्लो समय विवादित बन्दै आएका थिए। उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच लगातार जुहारी चलिरहेको थियो।

यसअघि नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल नतिरेका उद्योगहरूको लाइन काट्ने निर्णय गरेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उद्योगीहरूको लाइन पुन: जोड्ने निर्णय गरेको थियो।

घिसिङको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार ल्याउँदै लोडसेडिङ अन्त्यमा महत्वपूर्ण योगदान दिएको थियो। तर, पछिल्ला विवादहरूले उनको पदयात्रामा धक्का पुर्‍याएको छ।

नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

Facebook Comments Box